सोमबार, वैशाख १७, २०८१
21:07 | ०१:५२

भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलियाले जित्यो क्रिकेट विश्वकप

नेपाली लिङ्क नोभेम्बर १९, २०२३

लन्डन। यस वर्षको विश्वकप क्रिकेटको सबैभन्दा बलियो दाबेदार भारतलाई उसको घरेलु मैदानमै हराउँदै अष्ट्रेलिया एक दिवसीय क्रिकेटको विश्व च्याम्पियन बनेको छ ।

आइतबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौँपटक एक दिवसीय विश्वकप जितेको हो।

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले अविजित ५८ रन जोडे। यी दुईबीच चौँथो विकेटका लागि १९५ रनको साझेदारी भयो ।

त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका थिए ।

अष्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए । हरेक चार वर्षमा आयोजना हुने एक दिवसीय विश्वकप अष्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू