शनिबार, साउन १२, २०८१
01:20 | ०६:०५

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णयले उत्साह

नेपाली लिङ्क नोभेम्बर १०, २०२३

लण्डन- गैरआवासीय नेपाली संघले नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेकामा स्वागत गरेको छ । 

संघले सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाका लागि सरकारसँग माग गर्दै आएको जनाउंदै सन् २००९ मा तत्कालिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएको संघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूतावास स्थापना गर्नुपर्ने एजेन्डा घनीभूत रुपमा अघि सारिएको स्मरण गरेको छ ।

‘त्यसपश्चात पनि लगातार भएका सबै यूरोपेली क्षेत्रीय बैठकमा संघले संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो’- अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ -‘डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलबीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार बढी नेपालीले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास लिएका छौँ ।’

यसका साथै पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सनिल नेपाल राजदूत सिफारिस भएकोमा संघले खुशी व्यक्त गर्दै उनको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू