शनिबार, साउन १२, २०८१
09:59 | १४:४४

पार्टीको नाम र झण्डा प्रयोग नगरी राहत कार्यमा जुट्न रास्वपाको निर्देशन 

रासस नोभेम्बर ४, २०२३

काठमाडौँ, १८ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।

पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पुरयाएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । 

भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन पनि पार्टीले आह्वान गरेको छ ।

पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीकातर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ ।

साथै सांसद डा तोसिमा कार्की र डा प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावलले टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ । 

पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू