बिहीबार, जेठ १७, २०८१
06:44 | ११:२९

ह्यालोइनका कुरा

निर्मला प्रसाईं सापकोटा नोभेम्बर १, २०२३

निर्मला प्रसाईं सापकोटा

कुरा सन् २०१० अक्टोबरको हो । सबै पसल ह्यालोइनका सामानहरुले भरीभराउ र झकिझकाउ हुँदै थिए । एना त्यही महिनामा ५ वर्ष पुगेकी थिई । ह्यालोइनको रमाइलो भनेको केटाकेटीलाई नै त लाग्ने रहेछ । स्कूलमा ह्यालोइनकै विषयमा कुरा गर्ने र ह्यालोइन कै चलचित्रहरु देखाउन थाले । घर, स्कूल र बाटोमा साथीहरुसँग ह्यालोइनकै कुरा गर्दा गर्दै अक्टोबर ३१ वा ह्यालोइनको दिन आयो ।

एना उसका आमा, बाबा र तीन वर्षको भाई अनि उसका ३ साथी लुसी, सोफी र रोसाको परिवारसहित साँझपख ह्यालोइन मनाउन निस्के । एकदमै उत्साहित पाँच वर्षीया बच्चीहरु सुन्दर पुतलीहरुजस्तै बत्तिको उज्यालोमा र फुरुफुरु गर्दै रमाउदै बत्ती बलेका घरहरुका ढोका ढक्ढक्याउन पुग्थे । ढोका खोल्ने मान्छेलाई ‘ट्रीक अर ट्रीट’ भन्थे ।

ह्यालोइनमा ‘ट्रीक अर ट्रीट’ भन्ने चलन छ । यसको मतलव, ‘चकलेट वा पैसा दिनु भयो भने ठीक छ नत्र त्यही अनुसारको व्यवहार गर्छौ भनेको हो ।’ यसो भन्दा चकलेट वा पैसा दियो भने केटाकेटीहरु खुशी हुँदै धन्यवाद दिदै जान्थे । नत्र घरमा बत्ती बालेर पनि चकलेट वा पैसा नदिनेको घरका झ्याल ढोकामा अन्डा वा अन्य चिजले हानेर बदमासी पनि गर्ने गर्थे ।

एना र उसका साथीहरु सबैका हातमा स-साना झोला हुन्थे अनि डरलाग्दो मेकअप गरेका र डरलाग्दो पहिरन लगाएका ती सुनकेस्री राजकुमारीहरुले ‘ट्रीक अर ट्रीट’ भनेर ती झोला सहितका साना र सुन्दर हातहरु चकलेट थाप्न अघि बढाउँदाको दृष्य हेर्न कै लागि भए पनि हामीहरु चकलेट राखेर बत्ती बालेर कुरिरहन्थ्यौ । चकलेट पाइसकेपछि ती सुनकेस्री राजकुमारीहरुले मुस्काएर धन्यवाद भन्थे । छेवैमा उनीहरुलाई पर्खेर बसिरहेका उनीहरुका आमा बाबाहरु पनि मुस्कुराउँदै धन्यवाद दिन्थे ।

मलाई भने यो ह्यालोइनको छुट्टै महत्व छ । ह्यालोइन हिन्दूहरुको महान् चाड दीपावलीको समय वरिपरी पर्ने भएकोले यो चाड पनि रमाइलो लाग्छ, दीपावलीजस्तै । ह्यालोइन मनाउन आउने केटाकेटीहरु देउसी खेल्न आएजस्तै लाग्छ । त्यसैले बेलायत आए देखिनै हामीले पनि ह्यालोइनको साँझमा घरमा बत्ती बालेर केटाकेटीहरुलाई चकलेट दिने गरेका छौं ।

ह्यालोइनको साँझमा घरमा बत्ती बाल्नुको पनि छुट्टै महत्व छ । यसो गर्नुको मतलव घरमा ह्यालोइन खेल्न आउने केटाकेटीहरुलाई स्वागत छ भन्नु हो अर्थात् जुन घरमा त्यो साँझ बत्ती बलेको हुन्न त्यहाँ केटाकेटीहरु ह्यालोइन खेल्न जाँदैनन् । कसै कसैले चाँही ह्यालोइन मनाउन आउनेहरुलाई स्वागत छ भनेर ह्यालोइनको सामानहरु जस्तो पाकेको गोलो फर्सिमा हाँसेको अनुहारको आकृति बनाएर वा काटेर, मानव शरीरको कंकालहरुको आकृति, डरलाग्दा आकृतिहरु, अनि कसै कसैले त डरलाग्दो आवाजहरुको साथमा झिलिमिली बत्ती बालेर घर सजाएका हुन्छन् । विशेष गरेर जुन घरमा त्यो वर्ष मरिमराउ भएको छ, ती घरहरुमा ह्यालोइन मनाइन्छ भन्ने चलन छ ।

एनाको बाबा बेलायती नागरिक हुन् भने आमा पोलिस नागरिक । उनीहरु हाम्रो घर नजिकै बस्ने भएकाले र असल पनि भएकोले हाम्रा छिमेकी साथीजस्तै छन् । हामी एक अर्काको घरमा आउने जाने र परेको बेलामा एक अर्कालाई सहयोग पनि गर्छौ । एनाले पनि हामीलाई एकदमै नजिकको नातेदारजस्तै ठान्छे । विगत १३ वर्षदेखि गत वर्षसम्म हरेक ह्यालोइनमा एना उसका साथी लिएर ह्यालोइन मनाउन हाम्रोमा आइरहन्थी । हेर्दाहेर्दै ती सुनकेस्री नानीहरु हुर्केको देखेर रमाइलो लाग्थ्यो ।

तर, यसपाली अलि फरक भयो । एना पनि अब युनिभर्सिटी जाने भई । ह्यालोइन भन्दा २ हप्ता अगाडि युनिभर्सिटी जाने भनेर हामीसँग पनि बिदा माग्न आएकी थिई । हाम्रा केटाकेटीहरु पहिले नै गइसकेको हुनाले त्यसै शून्य लागि रहन्थ्यो । कहिलेकाही एना आउँदा केटाकेटीको न्यास्रो मेटिने गर्दथ्यो । अब एना पनि गएपछि त झनै शून्य हुने भयो, मनमनै सोचे ।

आइतबारको दिन हामी खाना बनाउने तयारी गर्दै थियौ । एना आई । ऊ आएपछि एकैछिन सन्चो बिसन्चोको कुरा गर्‍र्यौ । सबै खबर ठीक भएपछि मैले कफी बनाएँ । एकैछिन कफी खाँदै गफ गरयौं ।

त्यसपछि उसलाई बिहानको खाना खुवाएर मात्र पठाउने कुरा गरयौं । उसले उसकी आमालाई फोन गरेर हाम्रोमा खाना खाएर फर्कने जानकारी दिई ।
त्यसपछि ऊ पनि हामीलाई खाना बनाउन सहयोग गर्छु भन्दै भान्सामा आई । हामीले उसलाई भेटे देखिका रमाइला कुरा गर्दै खाना बनाउन थाल्यौं । ऊ पनि रमाइलो मान्दै बेला बेला कुरा थप्दै गर्न थाली । वर्षै पिच्छेका ह्यालोइनका कुरा भए । ठूलो हुन्जेलसम्म ह्यालोइन खेल्न गएका कुरा र ह्यालोइनका पहिरन लगाएर मान्छे तर्साएर मरीमरी हाँसेका कुरा भए ।

तर, यसपाली ऊ र उसका साथीहरु नहुँदा ह्यालोइन नरमाइलो हुने कुरा गरें मैले । उसले पनि ह्यालोइन मिस हुने गुनासो गरी अनि फेरि तुरुन्तै चित्त बुझाउँदै भनी, ‘ठिकै छ अब त हामी ठूला पनि भइसक्यौ ।’

एनाको खुबी भन्नु नै जोसुकैसँग पनि सजिलै घुलमिल हुन सक्नु हो । रूप पनि राम्रो र बानी व्यहोरा पनि राम्रो भएको हुनाले उसलाई धेरै मानिसहरुले मन पराउँछन् ।
गफ गर्दै पकाउँदा त थाहा नै नपाईकन खाना पाकी सकेछ । एना हतारमा भएकोले मैले खाना पाक्ने बित्तिकै खाने तयारी गरें । एना नेपाली खाना साह्रै मन पराउँछे । मिठो मानेर धन्यवाद दिदै उसले खाना खाई अनि केहीबेरको रमाइलो कुराकानी पछि अब जान्छु आन्टी भन्दै बिदा मागी ।

उसलाई पनि हामीले नजिकको नातेदार ठानेर शुभकामना कार्ड र केही उपहार दिएर बिदा गरयौं। उसले भावुक हुँदै मलाई अंगालो हाली । मैले पनि अंगालो हाल्दै ‘क्रिश्मसमा आउँदा निस्कनु है एना’ भने । ऊ ‘हवस् आन्टी’ भन्दै निस्की ।

एना युनिभर्सिटी गएकोमा मलाई हृदयदेखि नै खुशी लागेर आयो । तर ऊ नहुँदाको शुन्यताले भने मन खल्लो भयो । ऊ युनिभर्सिटी गएको पनि दुइ हप्ता भयो । यसपाली पनि ह्यालोइन आयो । हुर्केका केटाकेटीहरु पढ्न बाहिर गए । अरु नै नयाँ साना साना केटाकेटीहरु ह्यालोइन मनाउन आउने भए ।

मनमनै सोचें, ‘एना र उसका सबै साथीहरु पनि युनिभर्सिटी गएपछि गाउँ शून्य मात्र होइन, ह्यालोइनमा पनि नरमाइलो हुने भयो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू