शुक्रबार, वैशाख २१, २०८१
00:43 | ०५:२८

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईसँग नेपाल पराजित

राष्ट्रिय समाचार समिति (रासस) अक्टोबर २७, २०२३

काठमाडौँ, १० कात्तिक-त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । 

यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै जितेको थियो । नेपालले पहिलो खेलमा युएईलाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा हङ्कङलाई ६ विकेट पराजित गरेको थियो । 

त्यस्तै नेपाललले पुनःतेस्रो खेलमा हङ्कङलाई ७९ रन र अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । यता युएईले भने एक खेलमात्रै जितेको थियो । हङ्कङलाई नेट रनरेटले पछि पार्दै युएई फाइनलमा पुगेको थियो । युएईले पहिलो खेलमा हङ्कङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङ्कङसँग ६९ रनले पराजित भएको थियो ।  

आजको खेलमा नेपालले दिएको १६३ रनको लक्ष्यलाई युएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउदै पूरा गरयो । युएईका लागि कप्तान मोहम्मद वासिमले सवाधिक ४५ रनको योगदान दिए । उनले २२ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाएका हुन् । 

त्यस्तै वृत्य अरविन्दले २६, आर्यान्स शमाले २५, बसिल हमिदले २२, अलिसान शरर्फुले १३ तथा अलि नासिरले ११ रन जोडे । पहिलो विकेटका लागि वासिम र शर्माले ७१ रनको साझेदारी गरेका थिए । नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान दुई विकेट लिए भने कुशल मल्लले एक विकेट झारे । 

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् । 

दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए ।

त्यस्तै आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल एक रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।

बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई-दुई विकेट झारे । त्यस्तै जुनैद शिद्धिकीले एक विकेट लिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू