शनिबार, साउन १२, २०८१
02:15 | ०७:००

टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रिय समाचार समिति (रासस) अक्टोबर २१, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा नेपाली सेनाको एक टुकडीले दिएको सलामी ग्रहण गर्दै । तस्बिर- प्रदीपराज वन्त/रासस

काठमाडौँ, ४ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको सातौं दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो ।

बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू