शनिबार, साउन १२, २०८१
02:43 | ०७:२८

डा हेमराज शर्माले गरे उपाध्यक्षमा उम्मेदवारी दर्ता

नेपाली लिङ्क अक्टोबर १६, २०२३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा हेमराज शर्माले पुनः उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान उपाध्यक्ष डा शर्माले महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा राजु सैयद र अर्कराज तिमल्सिना छन् भने समर्थकमा शिव कुमार बरुवाल र हेम कुमारी पोखरेल छन् । शर्मा डा बद्री केसी टीमबाट उपाध्यक्षका उम्मेदवार बनेका हुन् भने एनआरएनएको प्लान सेटरका रुपमा परिचित उनी बलिया उम्मेदवार मानिन्छन् । उनले यसअघि अध्यक्षमै उम्मेदवारी दिने गरी लबिङ गरेपनि अन्तिम समयमा उपाध्यक्षमै उम्मेदवारी दिन राजी भएका थिए ।

सोहीअनुसार शर्माले एक विज्ञप्तिमार्फत यसअघि नै आम सहमतिको लागि मार्गप्रशस्त गर्न आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निर्णय लिएको बताएका थिए ।

एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुने शर्माको भनाइ छ ।

डा. शर्माले प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सवल र स्मार्ट एनआरएनए निर्माण गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शर्माले संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित प्रतिनिधि समक्ष आउने बताए ।

को हुन् डा. हेमराज शर्मा ?

संघको पूर्वप्रवक्ता तथा महासचिवको समेत जिम्मेवारी सम्हालिसकेका डा शर्माले महासचिवको बागडोर सम्हालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जीकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपान्तरणको बाटोमा अघि बढाएका छन् ।

कुशल प्रशासक समेत रहेका शर्माले काठमाडौंस्थित संघको सचिवालय चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरे ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

५० भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा. शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू