बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

बेलायतले नेपालमा जलवायु परिवर्तनको असर रोक्न निरन्तर सहकार्य गर्ने

नेपाली लिङ्क अक्टोबर ७, २०२३

लन्डन । नेपाली राजदूतावास लन्डन र बेलायती विदेश मन्त्रालय (एफसीडीओ) ले रोयल बोटानिक गार्डेन, एडिनवरा र ब्रिटिश काउन्सिलको सहकार्यमा जलवायु केन्द्रित प्यानल छलफल गरेका छन् ।

बेलायत नेपाल मैत्रीपूर्ण सन्धि (सन् १९२३) मा हस्ताक्षरको एक शताब्दी पुगेको अवसरमा ५ अक्टोबर रोयल बोटानिक गार्डेन, एडिनबरामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ को मैत्री सन्धिको महत्व, जैविक विविधता संरक्षणमा रोयल बोटानिक गार्डेनको सहकार्य र नेपालमा जलवायु परिवर्तनको प्रभावबारे प्रकाश पारेका थिए ।

उनले पछिल्लो समय अनुसन्धान, क्षमता अभिवृद्धि, संरक्षण र विकासका लागि रोयल बोटानिक गार्डेन र नेपाली संस्थाबीच भएको विशेष सहकार्यको पनि प्रकाश पारे । राजदूत आचार्यले जलवायु परिवर्तन र जैविक विविधता संरक्षण लगायत नेपालको विभिन्न क्षेत्रमा बेलायतले गरेको सहयोग र सहयोगको प्रशंसा समेत गरे ।

उनले हिमनदी पग्लने र अन्य जलवायुजन्य प्रकोपका कारण नेपालको उच्च जलवायु जोखिमलाई उजागर गर्दै शून्य उत्सर्जन र क्षेत्रगत रणनीतिका सम्बन्धमा नेपालको महत्वाकांक्षाबारे पनि चर्चा गरेका थिए ।

विभिन्न परियोजना अन्तर्गत नेपालको जैविक विविधता संरक्षणमा रोयल बोटानिकको सहयोग उल्लेख गर्दै रेगियस किपर साइमन मिल्नेले नेपाल र रोयल बोटानिकको सहकार्य उत्पादनशील, अर्थपूर्ण र न्यानो सहकार्यको उत्कृष्ट उदाहरण भएको बताए । उनले यो सहकार्य करिब २०० वर्ष अगाडि स्कटिस नागरिक फ्रान्सिस बुकानन–ह्यामिल्टनले नेपालबाट पहिलो वनस्पति ल्याइ संग्रह गरेर शुरु गरेको पनि स्मरण गरे ।

आफ्नो मन्तव्यमा एफसीडीओकी उपनिर्देशक सुश्री सार्लोट कोल्सले दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध अझ प्रगाढ भएको र नेपालको जलवायु परिवर्तन र जैविक विविधता संरक्षणमा बेलायतको सहयोगलाई प्रकाश पारिन् । उनले आगामी दिनमा पनि नेपालको सामाजिक–आर्थिक विकासमा बेलायतको निरन्तर सहयोग रहने विश्वास दिलाइन् ।

कार्यक्रममा जलवायु विज्ञहरु, नेपालका बेलायती मित्रहरु, स्थानीय कूटनीतिक समुदाय, नेपाली समुदायका सदस्यहरु तथा शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

दोस्रो चरणमा जलवायु केन्द्रित प्यानल छलफल भएको थियो । रोयल बोटानिकका वैज्ञानिक डा. मार्क वाटसन, एडिनवरा विश्वविद्यालयका प्रोफेसर ह्युज सिन्क्लेयर, एडिनवरा नेपियर विश्वविद्यालयका डा. इन्गे प्यानेल्स र राजदूत ज्ञानचन्द्र आचार्यले क्रमशः जैविक विविधता, भूविज्ञान, अर्थतन्त्रमा पार्ने प्रभाव र राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय सहयोगका विषयमा बोलेका थिए ।

छलफलमा जैविक विविधता, अर्थतन्त्र, भूविज्ञान र भविष्यमा पर्ने सम्भावित प्रभावमा विशेष ध्यान केन्द्रित गर्दै विगत १०० वर्षमा नेपालमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेको प्रभावको चर्चा गरिएको थियो।

वक्ताहरुले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि राष्ट्रिय प्रयास र त्यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्न व्यापक, ठोस र बहुपक्षीय अन्तर्राष्ट्रिय सहयोग एवं समर्थनको आवश्यकताबारे पनि छलफल गरेको लन्डनस्थित नेपाली दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू