शुक्रबार, वैशाख २१, २०८१
01:29 | ०६:१४

एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

रासस अक्टोबर ७, २०२३

काठमाडौँ, २० असोज- चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ ।
केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।
महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अंकले पराजित भएकी हुन् ।  नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अंकले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।
आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।
योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू