शनिबार, साउन १२, २०८१
02:50 | ०७:३५

विश्वभरिका नेपालीको समस्या नै मेरो एजेण्डा हो: सुनील साह

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२३

अमेरिका– गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साह अब उपाध्यक्षको तयारीमा छन् । अब बन्ने नयाँ कार्यसमितिमा साह उपाध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनी विश्वभरिका नेपालीको समस्यालाई आफ्नो एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिंदैछन् ।

जनकपुरमा जन्मेका साह पेसाले इन्जिनियर हुन् । उनले पुल्चोक क्याम्पस ललितपुरबाट इन्जिनियरिङ सकेका थिए । नेपालमा डिप्लोमा इन इन्जिनियरिङ सकेर उनले बंगलादेशमा पनि अध्ययन गरे । उनी मास्टर्स डिग्री पढ्नका लागि २० वर्ष अघि अमेरिका पुगेका थिए ।

साहले विद्यार्थी हुँदादेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा उनले नेविसंघको इकाई समितिमा र स्ववियूमा पनि काम गरेका थिए । करिब ३० वर्ष अघि उनले विद्यार्थी हुँदादेखि नै राजनीतिक र सामाजिक काममा हात हालेका थिए ।

उनी पढाइको क्रममा नेपाल होस् वा बंगलादेश रहँदा विद्यार्थीहरुलाई निकै सहयोग गर्थे । पढाइको क्रममा विद्यार्थीहरुका समस्यालाई नजिकैबाट हेर्न मौका पाएका थिए । बंगलादेशमा पनि उनी नेपाल बंगालादेश विद्यार्थी संगठनमा रहेर काम गरेका थिए ।

उनी २००३ को अन्त्यमा अमेरिका पुगेका थिए । अध्ययनकै क्रममा अमेरिकामा पुगेपछि उनले निकै संघर्ष गर्नु परयो । विद्यार्थी भिसामा तत्कालीन समयमा काम गर्न नपाउने चुनौतिहरु उनीसामु थिए । त्यसपछि विस्तारै उनी आफ्नो विषय अर्थात आइटी क्षेत्रमा स्थापित हुँदै गएका थिए ।

नेपालमा पनि विद्यार्थीहरुलाई परेको दुःखमा साथ दिने स्वभावका उनी त्यहाँ पुगेर पनि हात बाँधेर बस्न सकेनन् । त्यसबेला सामाजिक सञ्जाल थिएन । त्यसका बाबजुद पनि युवा, विद्यार्थीलाई पर्ने समस्यामा उनले सक्दो सहयोगी बनेका थिए ।

नेपालमा सन् २०१५ को भूकम्प होस् वा कोभिडकाल उनले सक्दो सहयोगको भूमिका निर्वाह गरेका थिए ।
विविध कारणले विदेश गए पनि नेपालसँगको सम्बन्ध कहिले विरानो बनाएनन् साहले। नेपालप्रतिको जिम्मेवारीबाट साह कहिल्यै पछाडि हटेनन् । उनको एउटा धारणा जुन भूमिबाट जहाँ पुगिन्छ, त्यहीँबाट जति सकिन्छ योगदान पुरयाउनुपर्छ भन्ने छ । अमेरिकाबाट उनले जतिसक्दो नेपाल र नेपालीसँग काम गरिरहेका छन् ।

त्यसबेला अमेरिकामा एनआरएनए बनिसकेको थिएन । अमेरिकामा सन् २०१० देखि एनआरएनएको संगठन बन्न शुरु भएको हो । साहले सन् २०१० मा एनआरएनएको निर्वाचन समितिमा बसेर काम गरेका थिए । सन् २०१५–१७ मा सल्लाहकार र सन् २०१७ मा उनी बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनी सन् २०१९ एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित भए । उनी सन् २०२१ देखि उनी एनआरएनएको केन्द्रीय कोषाध्यक्षका रूपमा कार्यरत छन् ।

अब उनी उपाध्यक्षको तयारीमा छन् । उपाध्यक्षका लागि उनको व्यक्तिगत एजेण्डा केही नभएको बताउँछन् । उनले एनसीसी अमेरिकाका विभिन्न पदमा रहेर काम गरिरहँदा युवा र महिलाका लागि विधानमै व्यवस्था गरेको बताउँछन् । उनले प्रत्येक गैर आवासीय नेपालीको तर्फबाट आउने सदस्यता शुल्कबाट २.५ डलर महिला र युवाका लागि जम्मा गर्ने परम्परा बसाएका थिए । विश्वभरिका मान्छेलाई जोड्ने अभियान अन्तर्गत सबैभन्दा धेरे सदस्य बनाउँदै उनको कार्यकाल निकै सफल थियो । उनले सदस्य बनाउने क्रममा २२ हजार सदस्य बनाएका थिए ।

अबको उपाध्यक्षमा उनको एजेण्डा पारदर्शिता हो । ‘कुनै पनि संस्था पारदर्शी हुन निकै जरुरी छ । म संस्थाको पारदर्शितामा विश्वास गर्छु । कोषाध्यक्ष भएपछि प्रत्येक महिनामा खर्च र आम्दानीको विवरण पठाउने गरेको छु’, उनले भने, ‘महिनैपिच्छे बैंक डिटेलहरु साधारण सदस्यलाई समेत पठाउने गरेको छु । म आर्थिक पारदर्शिता चाहन्छु । जुन काम अहिलेसम्म कसैले गरेको थिएन ।’

उपाध्यक्षको लागि छुट्टै व्यक्तिगत एजेण्डा भन्न रुचाउँदैनन् । उनले संस्थाको एजेण्डा नै आफ्नो एजेण्डा हुने बताउँछन् । ‘मेरो आफ्नो एजेन्डा भन्न मिल्दैन । नेपालमा नेपालीसँग जोड्ने संस्थाको एजेन्डा नै मेरो एजेन्डा हो,’ उपाध्यक्षका उम्मेदवार साह भन्छन् ।

संसारभरिका नेपालीका फरक–फरक खालका समस्याहरु छन् । ती सबै समस्या नै आफ्ना एजेण्डा बनाएका छन् । उनलाई संस्थामा विश्वासको वातावरण बनाउनुछ । विश्वास र पारदर्शिताले नै संस्था अघि बढ्न सहज हुने उनको तर्क छ ।

‘यो संस्था सबै गैरआवासीय नेपालीको सदस्यता शुल्कले चलेको संस्था हो । प्रत्येक सदस्यले खर्च गरेको छ । एउटा सदस्यका नाताले सबैलाई पारदर्शी रुपमा जानकारी हुन जरुरी छ । जिम्मेवारी ठानेर पारदर्शिता गर्नु जरुरी छ’ उनी भन्छन् ।

उनले पहिले गरेका काम महिला, युवा विद्यार्थीका लागि केन्द्रीत रहेका थिए । जुन कामले नेपाली समाजसँग प्रत्यक्ष जोड्न सकोस् । यस अघि गरेका कामबाट सिक्दै संस्थालाई पारदर्शी बनाउन पहल गर्ने उनको उद्देश्य छ । अहिलेसम्म गरेका गतिविधिबाट आत्मविश्वास बटुलेका साहले संस्थाको दोस्रो व्यक्तिको रुपमा काम गर्नका लागि उम्मेदवार बन्ने बताउँछन् ।

प्रत्येक डेलिगेट्स सदस्य संसारभरका नेपालीको प्रतिनिधि हो । ‘एउटा डेलिगेट्स ३ सय जनाको प्रतिनिधित्व हो’, उनी भन्छन्, ‘तपाइँको डेलिगेट्सलाई फोन गरेर राम्रो प्रतिनिधि छान्न सुझाव दिनुस् । त्यो तपाईंको अधिकार हो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू