शनिबार, साउन १२, २०८१
03:24 | ०८:०९

बेलायती रक्षामन्त्री फेरिएपछि दूतावास पुगे गोर्खा मध्यस्तकर्ता, मन्त्रीस्तरिय वार्ता सर्ने

नेपाली लिङ्क सेप्टेम्बर २, २०२३

फाइल तस्बिर

लन्डन । भूतपूर्व गोर्खा मुद्दामा बेलायत र नेपाल सरकारबीच अर्को वार्ता हुनै लाग्दा बेलायती रक्षामन्त्री बेन वालेसले राजीनामा दिए ।

विगत १८ वर्षदेखि संसद् सदस्य रहेका वालेसले ९ वर्ष मन्त्री हुंदा चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका थिए ।

वीन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ नेता वालेसले गोर्खा मुद्दा समेत राम्ररी बुझेका थिए ।
भूतपूर्व गोर्खाहरुले नै वालेसप्रति आशावादी रहेको बताउंदै आएका थिए । तर, वालेसको राजीनामापछि प्रधानमन्त्री ऋषि सुनकले बेलायतको नयाँ रक्षामन्त्रीमा ग्रान्ट साप्सलाई नियुक्त गरेका छन् । उनी यसअघि उर्जामन्त्री थिए ।

बेलायती रक्षामन्त्री फेरिएपछि गोर्खा वार्ता कसरी अगाडि बढ्छ भन्ने अड्कलबाजी शुरु भएको छ । यही आशंकाबीच वार्तामा भूतपूर्व गोर्खा मध्यस्तकर्ता मेजर रि. जुदबहादुर गुरुङले राजदूत ज्ञानचन्द्र आचार्यलाई शुक्रबार भेटेका छन् ।

नयां रक्षामन्त्रीले गोर्खा मुद्दामा ‘जीटुजी’ वार्ताप्रति कसरी हेरिरहेका छन् बुझ्न गुरुङ एक्लै दूतावास पुगेका थिए ।

भेटका क्रममा प्राविधिक समूहको वार्ता यही सेप्टेम्बर ११ मा बेलायती रक्षा मन्त्रालयमा हुने राजदूतले अवगत गराएका छन् । समय भने तय भइसकेको छैन् ।

उक्त वार्तामा लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र सैनिक सहचारी ब्रिगेडियर रत्नबहादुर गोदार सहभागी हुने तय छ । भूतपूर्व गोर्खाहरुका तर्फबाट मेजर जुदबहादुर गुरुङ, धर्म तामाङ सहभागी हुने छन् । थप एकजना पछि मनोनित गरिनेछ ।

यसअघि वेलफेयर मुद्दामा मात्र छलफल गर्न खोजेको बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खाहरुको विमतिपछि पेन्सन र वेलफेयर दुवैमा छलफल गर्न राजी भएको गुरुङले जनाए ।

उता जीटुजी मन्त्रीस्तरिय निर्णायक वार्ता दुई सातापछि सर्ने भएको छ । यसअघि ८ नोभेम्बरमा तय मन्त्रीस्तरिय वार्ता आउंदो २२ नोभेम्बरमा गर्न बेलायती 
रक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू