शनिबार, साउन १२, २०८१
05:42 | १०:२७

एनआरएनए प्रतिनिधिले भेटे परराष्ट्र मन्त्री

नेपाली लिङ्क अगस्ट १६, २०२३

काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधि र परराष्ट्र मन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्यका लागि परराष्ट्र मन्त्री समक्ष अनुरोध गरेको थियो ।

संघका तर्फबाट संघका कार्यकारी अध्यक्ष डा बद्री केसी तथा अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली विश्व सम्मेलन तथा संघको अन्तर्राष्ट्रिय महाधिवेशन तयारीबारे जानकारी गराएका थिए । विगतमा विश्व सम्मेलन नेपाल सरकारकै सहकार्य गर्ने परम्परा छ ।

संघका कार्यकारी अध्यक्ष केसीले सम्मेलनका लागि उच्चस्तरीय समिति गठन गरी यथाशक्य छिटो सम्मेलन सम्बन्धी काम अघि बढाउन सहजीकरण गर्न मन्त्री साउद समक्ष अनुरोध गरे ।

जवाफमा मन्त्री साउदले विगतको परम्परालाई सरकारले अघि बढाउने र गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि छिट्टै उच्चस्तरीय समिति गठन गर्ने प्रतिवद्धता जनाए ।

भेटमा गैरआवासीय नेपाली संघको तर्फबाट कार्यकारी अध्यक्ष डा. के.सी., अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव डा. केशव पौडेल, प्रवक्ता सोम प्रसाद सापकोटा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक बन्दना शर्मा, अधिकृत कुनाल मिश्राको उपस्थिति थियो भने मन्त्रालयका तर्फबाट माननीय परराष्ट्र साउद, नीति योजना, विकास, कूटनीति तथा विदेशमा बस्ने नेपाली सम्बन्धि महाशाखाका प्रमुख रिता धिताल तथा अधिकृत विष्णु अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू