सोमबार, वैशाख १७, २०८१
13:00 | १७:४५

चौंथो प्रतिभा नक्षत्रको तयारी तीव्र, यूकेबाहिरबाट पनि प्रतियोगी र निर्णायक आउंदै

नेपाली लिङ्क अगस्ट १२, २०२३

लन्डन। यही अगस्ट अन्तिम साता बेलायतमा आयोजना हुने चौंथो प्रतिभा नक्षत्रका लागि यतिबेला तीव्र तयारी भइरहेको छ।

यस वर्षको प्रतिभा नक्षत्रमा भाग लिन बेलायतबाहेक युरोपको अष्ट्रियाबाट समेत प्रतियोगी आउने भएका छन् ।  

प्रतियोगितामा बाल र युवा समूहमा गरी झन्डै दुई दर्जन प्रतियोगीले भाग लिने पक्का भएको आयोजक प्रतिभा नक्षत्र यूकेका परिकल्पनाकार राजेन्द्र खसले जानकारी दिएका छन्।यही अगस्ट १५ तारिखसम्म आवेदन खुला रहेकाले थप  प्रतियोगी आउने क्रम जारी रहने उनले बताए।  

प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न देश विदेशबाट कला र मिडिया क्षेत्रका हस्तीहरु आउने भएका छन्। 

निर्णायकहरुमा आर्यन नकर्मी (नेपाल), स्यान्डी भण्डारी (आष्ट्रिया), प्रकाश श्रेष्ठ (नेपाल), श्रद्धा अर्याल (कान्तिपुर मिडिया), लक्ष्मी खतिवडा (गोरखापत्र दैनिक), चर्चित टिभी पत्रकार टिकाराम यात्री र विश्व किताब जात्रा अध्यक्ष ऋषिराम अधिकारी छन्।

त्यस्तै, कार्यक्रमका लागि अनुभवी कोरियोग्राफरहरुले पनि कोरियोग्राफी गर्ने भएका छन्।

बाज संगीत र ललित कला संस्थानबाट कोरियोग्राफरहरू दिलु थापा, तुलसी मानन्धर, रोजेन दर्नाल, भावना बुढाथोकी, भाविका लोप्चन र ममता श्रेष्ठले कोरियोग्राफरको भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन्।

बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने मूल लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो।  

आयोजक प्रतिभा नक्षत्र यूकेकी अध्यक्ष सिम्मी पुनले कार्यक्रमलाई  विगतका वर्षहरुमा भन्दा झन् बढी व्यापक, समावेशी र उपलब्धिपूर्ण बनाउन आफ्नो टीमले मेहनत गरिरहेको जनाइन्।

संरक्षक मनिषकुमार श्रेष्ठले नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि गरिन लागेको कार्यक्रम सफल बनाउन बेलायतवासी सबै नेपाली, संघसंस्था र सिंगो समुदायबाट सहयोग मिल्ने आशा व्यक्त गरे।

आयोजकले सबैलाई सकभर मौलिक नेपाली पहिरनमा सजिएर आउन आव्हान गरेका छन्। 

प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट २६ तारिख शनिबार बिहान ११ देखि बेलुका ८ बजेसम्म कार्यक्रम हुंदैछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू