मंगलबार, जेठ १, २०८१
13:04 | १७:४९

पूर्व कप्तान मल्ललाई एनआरएनए यूके र अन्तर्राष्ट्रिय धादिङ समाजको सम्मान

नेपाली लिङ्क अगस्ट १०, २०२३

 

लन्डन- बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई एनआरएनए यूके र अन्तर्राष्ट्रिय धादिङ समाजले सम्मान गरेका छन्।

बुधबार बेलुका उनको सम्मानमा एनआरएनए यूकेले अल्डरसटमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा दुई संस्थाले उनलाई छुट्टाछुट्टै सम्मान गरेका हुन्।

एनआरएनए यूकेको तर्फबाट अध्यक्ष हित काजी गुरुङले खादा र सम्मानपत्रसहित मल्ललाई सम्मान गरेका थिए।

सोही अवसरमा आन्तरराष्ट्रिय धादिङ समाजका तर्फबाट पनि अध्यक्ष राजन खकुरालले उनलाई सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै पूर्वकप्तान मल्लले अन्तरराष्ट्रिय खेल जीवनबाट सन्यास लिए पनि बांकी जीवन नेपाली किक्रेटको विकासमै समर्पण गर्ने प्रतिबद्धता जनाए।

उनले बेलायतको लर्डस् किक्रेट मैदानमा नेपाली खेलाडीहरुलाई खेल्ने अवसर मिलाउनको लागि आवश्यक पहलकदमी लिन एनआरएनए यूके र अन्तर्राष्ट्रिय धादिङ समाजलाई आग्रह समेत गरे ।

एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रम डा विशाल गुरुङले सञ्चालन गरेका थिए ।  कार्यक्रममा एनआरएनए आइसीसी सदस्य दिलरस गुरुङ, पुरन गिरी, एकेन्द्र गुरुङसहित बेलायतस्थित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, पूर्वखेलाडीहरु, बुद्धिजीवी तथा पत्रकारहरुको उपस्थिति थियो ।

त्यस अवसरमा पूर्व नेपाली खेलाडीहरुले राष्ट्रको लागि ठूलो योगदान गरे पनि राष्ट्रले खेलाडीहरुलाई उपेक्षा गरेकोप्रति चिन्ता व्यक्त गरेका थिए । 

यसअघि गतसाता अन्तरराष्ट्रिय खेल जीवनबाट सन्यास लिए लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मल्ल लन्डन आएका थिए ।आइतबार उनी नेपाली समुदायद्वारा आयोजना गरिएको ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विशेष अतिथीका रुपमा सहभागी भए ।

गत सोमबार बेलायतको मिडल्यान्डमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रुपमा  सहभागी भए। क्रिकेट खेललाई बेलायती नेपालीलगायत विदेशी टिममा समेत सहभागी गराउने लक्ष्यसहित उनले विभिन्न पहल गर्दै आएको बताएका छन्।

सोही अवसरमा एनआरएनए यूकेले एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्मालाई पनि बेलायतमा स्वागत गरेको थियो। शर्माले गैरआवासीय नेपाली अभियानमा बेलायतको महत्वपूर्ण भूमिका रहंदै आएको उल्लेख गर्दै बेल्जियम पनि सहकार्य गरेर अघि बढ्न चाहेको बताइन्। उनले संघ अब नयाँ पुस्ता र प्रविधिमैत्री हुनुपर्नेमा पनि जोड दिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू