सोमबार, वैशाख २४, २०८१
05:14 | ०९:५९

स्कटल्याण्डमा नेपाली भेट्रान बक्सर राईले जिते उपाधि

नेपाली लिङ्क जुलाइ ३०, २०२३

लन्डन । नेपालका भेट्रान बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्डमा आयोजित एक प्रोफेशनल बक्सिङ प्रतियोगिता जितेका छन् ।

२० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्याण्डमा शनिबार भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टिकेओ) का आधारमा पराजित गरेका हुन् ।

२०० अमेचर म्याच खेलिसकेका भेट्रान बक्सर राईले उपाधि जित्नुलाई महत्वपूर्ण ‘उपलब्धि’ मानेका छन् । ‘यसले नयां पुस्तामाझ अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ’, उनले भने ।

उनी यूनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्याण्ड) च्याम्पियन पनि बनेका छन् । १३ औं साफमा उनले तेश्रो पदक जितेका थिए ।

नेपालका अर्का खेलाडी जुनियर नेशनल च्याम्पियन आकाश डांगी भने यूबीए, यूबीओ वर्ल्ड टाइटल म्याचमा एन्डी बेलसंग पराजित भएका छन् ।

नेपालबाटै आएका अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने रद्द भएको छ । उनका प्रतिष्पर्धी बबी कार्टर घाइते भएकाले म्याच रद्द भएको म्याक्सले बताए । खेल रद्द भएकामा म्याक्स दुःखी छन् ।

‘चार महिनादेखि तयारी गरेको थिएं खेल्न पाइएन’, उनले भने, ‘नेपालमा हाइ अल्टिच्यूड हुने भएकाले हामीलाई प्रशिक्षण अप्ठेरो हुन्छ । तर यहां भने खेल्न र प्रशिक्षण पनि सजिलो थियो । म पूर्ण तयारीमा थिएं ।’ 

प्रोफेशनल एउटा कन्टेन्डर च्याम्पियनले अर्को कन्टेन्डरसंग प्राय नखेल्ने गरेको म्याक्सले जनाए । ‘राज्यले खेलाडीका लागि केही गर्दैन । हामी आफ्नै प्रयासमा खेल्दैछौं’, उनले वाध्यता सुनाए ।

उनी १४ पटक राष्ट्रिय स्वर्ण पदक विजेता हुन् । म्याक्स मुम्बई च्याम्पियन, अल इण्डिया इन्टर क्लव च्याम्पियन, जापान च्याम्पियन, स्पेन जिबीएफ वर्ल्ड कप क्वालिफायर २०२२ समेत हुन् ।

६ अगष्ट नेपाल फर्कनु अघि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगठन यूके र यती नेपाली एसोसिएसन यूकेले संयुक्त रुपमा ति खेलाडीको सम्मान तथा विदाई गर्ने भएका छन् । आउंदो ५ अगष्ट दिउसो लन्डन साउथ हयारोस्थित नेवा छेः माया रेष्टुरेन्टमा कार्यक्रम गर्न लागिएको संगठनका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू