आइतबार, वैशाख १६, २०८१
20:29 | ०१:१४

एनआरएनए यूकेमा नर्दन आयरल्यान्डको प्रतिनिधित्व गर्ने जिम्मा उपाध्यक्ष निउरेको काँधमा

नेपाली लिङ्क जुलाइ २५, २०२३

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषदमा नर्दन आयरल्यान्डको प्रतिनिधित्व गर्ने जिम्मा लिलाराम निउरेले पाएका छन् ।

सन् २०२३-२५ कार्यसमितिमा उनी नर्दन आयरल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा निर्विरोध चुनिएका छन्।

नर्दन आयरल्यान्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष निउरेले अब राष्ट्रिय समन्वय परिषदमा उपाध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन्। जसलाई न्याय दिने गरी पूरा गर्न उत्साहित र प्रतिबद्ध छन् उनी।

एनआरएनए अभियानमा वर्षौंदेखि आबद्ध रहेर सक्रिय बन्दै आएका छन् निउरे । लन्डनकेन्द्रित एनआरएनए यूकेलाई राज्य परिषदको अवधारणामा लगेर यूकेभरका सबै नेपालीमाझ पुर्‍याउनुपर्छ भनेर  दबाब सिर्जना गर्ने अभियानमा अग्रपंक्तिमा थिए उनी । 

एनआरएनए यूके राज्यस्तरमा बिस्तार हुँदै गर्दा संस्थापक समितिमा अध्यक्षको जिम्मेवारी सम्हलेका उनले त्यसयता संस्थामा अभिभावकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। 

राष्ट्रिय समन्वय परिषद उपाध्यक्षको रुपमा प्राप्त नयाँ जिम्मेवारीमै केन्द्रित हुंदैछन् अब निउरे ।

‘हामी सबैको प्रमुख चासो रहेको नागरिकता निरन्तरताको पक्षमा केन्द्रीय स्तरमा लबिङदेखि राज्य समन्वय परिषदहरुलाई थप शसक्त र अधिकारसम्पन्न बनाउने कार्यमा मेरो मुख्य जोड रहन्छ’, आफ्ना प्राथमिकताबारे उनले संक्षेपमा भने, ‘एनआरएनए अभियानमा युवा सहभागिता बढाउने र नयाँ पुस्तामा नेपाली भाषा, कला, संस्कृति हस्तान्तरण गराउनेजस्ता  सवाललाई पनि मैले महत्वका साथ अघि बढाउनेछु भन्ने सोंच बनाएको छु।’

संस्थाभित्रको विवादलाई कम गर्दै मिलेर काम गर्न सक्ने वातावरण निर्माणमा पनि आफ्नो कोशिश् रहने उनी बताउँछन्। 

एनआरएन अभियानका अलावा स्थानीय नेपाली समुदायमा एक सक्रिय अभियन्ताका रुपमा सामाजिक कार्यहरुमा पनि उत्तिकै क्रियाशिल छन् निउरे।  

नर्दन आयरल्यान्डमा बसोबासरत नेपालीहरुको संस्था ‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ को अध्यक्षका रुपमा एक कार्यकाल नेतृत्व गरिसकेका उनी हाल नेप्लिज सेफ एशोसिएसन यूकेमा पनि संस्थापक अध्यक्ष छन्।

बाग्लुङ ताराखोलामा जन्मिएर कलिलो उमेरमै वैदेशिक रोजगारीमा लागेका निउरे भारत र गल्फ मुलुकहरुमा कयौं वर्ष बिताएपछि सन् २००५ मा बेलायत आएका थिए। हाल उनी नर्दन आयरल्यान्डमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू