शनिबार, साउन १२, २०८१
03:06 | ०७:५१

नेपाल र इयूबीच रु १० अर्ब बढीको अनुदान सम्झौता

रासस जुलाइ २१, २०२३

काठमाडौँ, ५ साउन- दुई छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयू) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ ।

आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

‘सबैका लागि गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन फर अल) कार्यक्रम’ र ‘स्थानीयस्तरमा जलवायु परिवर्तन अनुकुलन (लोकल एडप्सन टु क्लाइमेट चेन्ज) कार्यक्रम’ का लागि अनुदान सम्झौता भएको हो ।   

सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वनयका लागि पाउन्ड स्टर्लिङ पाँच करोड अर्थात् रु सात अर्ब ३८ करोड बराबरको अनुदान सम्झौता भएको छ भने लोकल एडप्टेसन फर क्लाइमेट चेञ्ज कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ दुई करोड २० लाख अर्थात् रु तीन अर्ब २५ करोड बराबरको सम्झौता भएको छ ।

यी दुवै कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ सात करोड २० लाख अर्थात् रु १० अर्ब ५३ करोड बराबरको अनुदान इयूबाट नेपालले पाउनेछ ।

सरकारी तथा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रममार्फत यो रकम खर्च गरिने अर्थसचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

“यो कार्यक्रमले सबैलाई गुणस्तरीय शिक्षामा पहुँच बढाएर मानव पुँजी विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ”, सम्झौतामा हस्ताक्षर गर्नुहुँदै अर्थसचिव पोखरेलले भने ।

त्यस्तै, सबै नेपाली नागरिकको शिक्षामा पहुँच बढाइ गुणस्तरीय सिकाइका क्षेत्रमा सहयोग गर्ने नीतिलाई निरन्तरता दिइने इयूले जनाएको छ ।

“इयूले नेपालको शिक्षा क्षेत्रमा २० वर्षदेखि सहयोग गर्दै आएको छ । गुणस्तरीय शिक्षा क्षेत्रमा थप लगानी गर्ने हाम्रो प्रतिबद्धता छ”, इयू कमिस्नर फर इनटरनेसनल पार्टनरसीप युट्टा आर्पिलाइनेनले भने।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू