सोमबार, वैशाख १७, २०८१
12:00 | १६:४५

अमेरिकामा मनाइयो भानुजयन्ती

रासस जुलाइ १७, २०२३

वासिङ्टन डिसी, १ साउन -अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुरयाएको योगदान र उनको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गरे ।

उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गरेको बताए ।

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गरे । उनले भने, “हामीलाई आर्थिक स्वतन्त्रताका लागि विदेशी भूमिमा पुरयाए पनि भानुभक्तको योगदान र उहाँले गर्नुभएको भाषागत स्वतन्त्रताको योगदानलाई दुई सय वर्षपछि पनि हामीले सम्झिरहेका छौँ ।”

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानुजयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताए ।

यसैबीच, अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासले प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार भारतमा बसेर साहित्य सिर्जना गर्नुहुने रण काफ्लेको उपन्यास ‘रैथाने’लाई प्रदान गरिने भएको छ । दुई हजार डलर राशिको पुरस्कार उक्त कृतिलाई प्रदान गरिने भएको अनेसास पुस्कार छनोट समितिका संयोजक तीर्थ पाण्डेयले जानकारी दिए ।

यस्तै डायस्पोरा पुरस्कार महेश्वर पन्तद्वारा लिखित ‘बौलाहाको डायरी’लाई, निबन्ध पुरस्कार श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’, कल्पना खरेलको उपन्यास ‘रानी तलाउ’ र गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’लाई प्रदान गरिएको छ ।

यी पुरस्कार होमनाथ सुवेदी, डा श्याम कार्की, इन्दिरा कार्की, पदम विश्वकर्मा, डिल्लीराम तिम्सिना र सीता शर्माले स्थापना गरेका हुन् ।

यसैगरी सर्वोत्कृष्ट काव्य पुरस्कार सिन्धु पौडेलको ‘मृत सागरको उचाइ’, डा गोविन्द आचार्यको ‘दङ्गी उर्वशी’, निर्मोही व्यासको ‘आवारा बादल’, कथाकार महेश पौडेलको ‘अपिरिचित अनुहार’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही एक हजार डलर छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू