शनिबार, साउन १२, २०८१
02:33 | ०७:१८

लन्डन आइपुगे स्वास्थ्यमन्त्री बस्नेत, स्वागत गर्न विमानस्थलमा कार्यकर्ताको भीड

नेपाली लिङ्क जुलाइ १४, २०२३

लन्डन- नेपाली कांग्रेसका नेतासमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लन्डन आइपुगेका छन् ।

निजी भ्रमणका शिलशिलामा शुक्रबार राती लन्डन आइपुगेका उनलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले स्वागत गरे ।

मन्त्री बस्नेतको स्वागतका लागि आरके त्रिपाठी, प्रवेश केसी, सूर्य नेम्वाङ, रोमियन लिम्बू, वीरेन खड्का, राजन गुरुङ, क्षमता ढकालसहितका दर्जनौं कांग्रेस कार्यकर्ता हिथ्रो विमानस्थल पुगेका थिए ।

जनसम्पर्क समिति बेलायत सभापति गुरुङका अनुसार बेलायतस्थित युनिभर्सिटी अफ केन्टबाट डिग्री पूरा गरेकी छोरीको ग्रयाजुएसन समारोहमा भाग लिन मन्त्री बस्नेत पत्नीसहित आएका हुन् । मंगलबार छोरीको ग्रयाजुएसन समारोह सकेर विहीबार उनी नेपाल फर्किने योजना छ ।

निजी भ्रमणमै आएका भएपनि मन्त्री बस्नेतले बेलायती स्वास्थ्यमन्त्री स्टिभ बार्कलेसंग भेट्ने र यहाँका केही अस्पतालहरुको भ्रमण गर्ने पनि कार्यक्रम छ । त्यस्तै, जनसम्पर्क समिति बेलायतले पनि उनको सम्मानमा आइतबार बेलुका अल्डरसटमा एक स्वागत कार्यक्रम गर्नेछ ।

आइतबार हुने एनआरएनए यूकेको अधिवेशनमा पनि प्रमुख अतिथिका रुपमा निम्त्याइएको भएपनि उक्त कार्यक्रममा भने मन्त्री बस्नेतको सहभागिता अझै निश्चित भइनसकेको जनसम्पर्क समिति सभापति गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू