शुक्रबार, जेठ ४, २०८१
10:30 | १५:१५

विश्वकप छनोट प्रतियोगितामा नेपाल आयरल्यान्डसँग पराजित

रासस जुलाइ ४, २०२३
काठमाडौँ, १९ असार -जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।
विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भने सातौँ स्थानमा छ ।
जितका लागि नेपालले दिएको दुई सय ६९ रनको विजयी लक्ष्य आयरल्यान्डले ४९ दशमलव दुई ओभरमा आठ विकेट गुमाउँदै पूरा गरयो ।
आयरल्यान्डको जितमा कर्टिस क्याम्फरले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रन जोडेका हुन । त्यस्तै ह्यारी टेक्टरले ६० रनको योगदान दिए । उनले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रन बनाएका हुन् ।
यसैगरी जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए । लोर्कान टकरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । ओपनर एन्डी म्याकब्रिन १७ रनमा आउट भए । कप्तान एन्डी बालबर्नी १ रनमा आउट हुदाँ पल स्टरलिङले १५ रन बनाए ।
नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए भने किशोर महतोले दुई विकेट लिए । सन्दीप लामिछानेले र गुलशन झाले समान एक एक विकेट लिए । त्यसअघि जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।
त्यस्तै सन्दीप लामिछानले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।
बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २÷२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १÷१ विकेट लिए ।
विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको थियो । समूह चरणको खेलमा नेपाल ४ खेलमा ३ मा हार र १ खेलमा विजयी भएको थियो । नेपाल समूह चरणको खेलमा चौथो स्थानमा थियो ।
 नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्टइन्डिजसँग १ सय १ को हार बेहोरेको थियो । त्यस्तै नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेको थिएन ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू