आइतबार, जेठ ६, २०८१
04:15 | ०९:००

अफगानिस्तानमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सगरमाथा शिखरमा, बनाए विश्व कीर्तिमान

नेपाली लिङ्क मे २०, २०२३

लन्डन ।अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका भूतपूर्व  गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। 

शुक्रबार दिउँसो तीन बजे सगरमाथाको शिखर चुमेका उनले कृत्रिम खुट्टासहित विश्वकै सर्वोच्च शिखर आरोहणको नयाँ इतिहास बनाएका हुन्। 

घुंडामुनिका आफ्ना दुवै खुट्टा गुमाएको तेह्र वर्षपछि बुढाले शारीरिक अपांगताका बाबजुद सर्वोच्च सगरमाथा आरोहण सम्भव रहेको पुष्टि गर्न सफल भएका छन्।  

शनिबार फेसबुकमा पोस्टमार्फत् खुशी शेयर गर्दै उनले भनेका छन्- ‘आई ह्याभ डन इट (मैले यो गरेको छु।) 

क्रिश थापाको नेतृत्वमा रहेको आरोहण दलसंगै बुढामगर सगरमाथाको चुचुरो चुम्न सफल भएका हुन् ।  शिखरमा पुगेको क्षण उनले ’वी डिड  इट’ (हामीले गर्‍यौं ) भन्दै चिच्याएर खुशी व्यक्त गरेका थिए।  


सगरमाथाको सफल आरोहणपछि बुढाले ईच्छाशक्ति भए हरेक कार्य सम्भव हुने सन्देश आफूले दिन चाहेको बताएका छन् । उनले भनेका छन्, ‘ यदि म सगरमाथाको शिखरमा पुग्न सक्छु भने जोकसैले आफ्नो जति ठूलो सपना पनि पूरा गर्न सक्छ, चाहे जस्तोसुकै शारीरिक अपांगता नै किन नहोस् ।’ 

बुढामगरले आफूलाई यो सफलतासम्म पुग्न प्रेरणा दिने परिवार र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू