आइतबार, जेठ ६, २०८१
01:01 | ०५:४६

लण्डन दूतावासमा जीवन विज्ञान यूकेको अन्तरक्रिया

नेपाली लिङ्क मे २०, २०२३


लन्डन –  योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था ‘जीवन विज्ञान यूके’ ले नेपाली दूतावासमा एक अन्तरक्रिया गरेको छ।

जीवन विज्ञान यूकेले बिहीबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी नियोग उपप्रमुख रोशन खनाल लगायत दूतावास परिवारसंग अन्तरक्रिया गरेको हो ।

उक्त अवसरमा जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले आफ्नो संस्थाले बेलायत तथा युरोपमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरुका लागि दैनिक योग तथा ध्यान कक्षा, स्वसंवाद प्रशिक्षण लगायत कार्यक्रमहरु संचालन गर्दै आएको बताइन्। 

उनले प्रवासमा हुर्कीरहेका नेपाली किशोर किशोरी तथा युवाहरुलाई लक्षित गरेर पनि विभिन्न कार्यक्रम संचालन भइरहेको बताइन्।

उनले जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ श्रद्धेय गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले दक्षिण पूर्वी लन्डनमा जुलाई २३ देखि जुलाई २९ सम्म बेलायतमै पहिलो पटक ‘चक्र विज्ञान’ प्रशिक्षण संचालन गर्ने जानकारी पनि दिइन्।

हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने जीवन विज्ञान यूकेले जनाएको छ।


उक्त अवसरमा राजदूत आचार्यले जीवन विज्ञान यूकेका कार्यक्रम समय सान्दर्भिक र अत्यन्तै उपयोगी रहेको बताउंदै संस्थालाई व्यक्तिगत र राजदूतावासको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए।

उक्त अवसरमा जीवन विज्ञान यूकेका ट्रस्टीहरू प्रेम खड्का, जीत रानाभाट, तुलसी पौडेलसहित खेम शर्मा एवं शिवजी श्रेष्ठ उपस्थित थिए । उक्त टोलीले राजदूत आचार्यलाई कार्यक्रममा सहभागिताका लागि आमन्त्रण पनि गर्‍यो।  

https://www.jeevanvigyanuk.orgमा गएर चक्र विज्ञान प्रशिक्षणबारे थप जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू