आइतबार, मंसिर २३, २०८१
23:58 | ०५:४३

बेलायती प्रधानमन्त्री र अमेरिकी तथा फ्रान्सका राष्ट्रपति हिरोसिमामा

एजेन्सी मे १९, २०२३

तस्विर- एपी

हिरोसिमा-बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई  हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्क) मा स्वागत गरेका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक आफ्नी पत्नी अक्षता मूर्ति तथा अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दैछन् ।

हिरोशिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री सुनक, फ्रान्सका राष्ट्रपति म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका हुन् ।

जी–७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलायत र जर्मनी छन्। जापानले आफ्नो जी–७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ।

जी–७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेन्सीको क्रममा) र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी–७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दै छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुग्दैछन् र मे २०–२१ मा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भनेका छन्, ‘मे १९ देखि २१ सम्म जी–७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुँदैछ। हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो।’

‘म साँच्चै जी–७ नेताहरूलाई हिरोशिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा  यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ’, उनले भने ।

यसअघि मे १८ मा जापानी प्रधानमन्त्री किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलायती समकक्षी सुनकसँग पनि भेटवार्ता गरेका छन् ।

किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेकी इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका छन् । जापानले यसै वर्ष २०२३ मा जी–७ को अध्यक्षता ग्रहण गरेको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू