आइतबार, जेठ ६, २०८१
07:58 | १२:४३

परराष्ट्रमन्त्री साउदको सम्मानमा लन्डन दूतावासमा रिसेप्सन

नेपाली लिङ्क मे ९, २०२३

लन्डन । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती राजा, प्रधानमन्त्री लगायत वरिष्ठ अधिकारीहरुसंग विभिन्न कार्यक्रममा महत्वपूर्ण भेटघाट भएको बताएका छन् । 

लन्डनस्थित नेपाली दूतावासले आफ्नो सम्मानमा सोमबार सांझ आयोजना गरेको स्वागत कार्यक्रममा परराष्ट्रमन्त्री साउदले बेलायती राजालाई नेपाल सरकार र जनताका तर्फबाट बधाइ र शुभकामना दिइएको पनि बताए। 

साउदले गत शनिबार बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा भाग लिएका थिए । 


यस अघि उनी बकिङहम दरबारमा आयोजित ‘रिसेप्सन’ मा पनि सहभागी भएका थिए जहाँ बेलायती राजा, प्रधानमन्त्री ॠषि सुनकलगायत वरिष्ठ अधिकारीहरुसँग उनको भेटघाट भएको थियो । 

बेलायत नेपालबीच शताब्दीऔं पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदले बेलायतले मित्र अन्तर्राष्ट्रिय शक्तिका रुपमा नेपाललाई सहयोग गरिरहेको पनि बताए । 

‘सुगौली सन्धि भएको पनि दुई सय वर्ष बढी र मैत्री सन्धि भएको एकसय वर्ष पुगेको छ । त्यो बाहेक पनि बेलायत सरकारसंग नेपालका धेरै सम्बन्धहरु छन्’, मन्त्री साउदले भने, ‘नेपालको पनि एकअर्काप्रति सम्मान र मर्यादा रहंदै आएको छ । विश्वास छ आउंदा दिनमा पनि यो सद्भाव सम्मान दुईदेशबीच रहिरहने छ। यो काममा बेलायतस्थित नेपाली समुदायको निर्णायक र महत्वपूर्ण भमिका रहनेछ ।’


राजदूत राज्यका तर्फबाट प्रतिनिधि भएपनि नागरिकहरु देशका वास्तविक सांस्कृतिक राजदूत भएको उल्लेख गर्दै उनले भने, ‘दुई देशबीच सम्बन्धको विकास, विस्तार र मान सम्मान अभिवृद्धि गर्न बेलायत बस्ने नेपालीहरुको निर्णायक र महत्वपूर्ण योगदान रहन्छ ।’

मन्त्री साउदले नेपालमा लगानीमैत्री वातावरण भएकाले उद्यम र लगानी गर्न बेलायतको नेपाली डायस्पोरालाई अनुरोध गरे । 

‘संविधान आइसकेको छ, द्वन्द्व समाप्त भइ सर्वस्वीकृत दुईवटा चुनाव पनि भइसकेको छ । लगानीमैत्री वातावरणबाट प्रतिफल लिने पहिलो हक गैर आवासीय नेपालीको हुन्छ । उधमशीलताका लागि नेपाल आउनुस् म नेपाल सरकारका तर्फबाट स्वागत गर्न चाहन्छु’, उनले भने । 

मन्त्री साउदले नेपाल सरकार ऐन प्रक्रियाबाट नागरिकता र गैर आवासीय नेपालीका अधिकार सुनिश्चित गर्न दृढ संकल्पित रहेको पनि विश्वास दिलाए ।


कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले परराष्ट्रमन्त्री साउदको बेलायत भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गरेको बताए । 

उक्त कार्यक्रम दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

तस्बिर-शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू