सोमबार, वैशाख २४, २०८१
05:58 | १०:४३

वृहत र्‍यालीसहित बेलायतको कोभेन्ट्रीमा २५६७ औँ बुद्ध जयन्ती

नेपाली लिङ्क मे ५, २०२३

लण्डन–बेलायतको कोभेन्ट्रीमा भगवान् बुद्धको २५६७ औँ जयन्ती मनाइएको छ । कोभेन्ट्री नेपाली समाज बेलायतको आयोजनामा कोभेन्ट्रीस्थित सेन्टर पुस्तकालयमा बुद्धबारे लेखिएका पुस्तकहरु हस्तान्तरण गरी २५६७ औं बुद्ध जयन्ती मनाइएको हो । 

सोही अवसरमा नेपाली भाषामा लेखिएको भागवत गीता पुस्तक पनि पुस्तकालयलाई हस्तान्तरण गरिएको छ ।  

मे  ५ तारिख शुक्रबार दिउसो वृहत शान्ति रयालीसहित गरिएको कार्यक्रम दिउसो १ बजेबाट कोभेन्ट्री सिटी सेन्टर पुस्तकालय हुँदै गासफोर्ड पार्कमा आएर समापन भएको थियो ।  

स्मरण रहोस् विगतमा पनि उक्त सेन्टर पुस्तकालयमा कोभेन्ट्री नेपाली समाजकै पहलमा नेपाली भाषाका पुस्तकहरु समावेश गरिएको थियो । विश्वका विभिन्न भाषाका विभागहरु समावेश गरिएको उक्त पुस्तकालयमा नेपाली भाषाको विभाग पनि समावेश गरिएको छ ।  


उक्त कार्यक्रममा पुस्तक ग्रहण गर्दै पुस्तकालय प्रमुख ऐनी ब्राउनले कोभेन्ट्री नेपाली समाजप्रति खुशी ब्यक्त गरेकी थिइन् । त्यसै गरी समाजका अध्यक्ष सन्तोष पौडेलले आगामी दिनमा पुस्तकालयप्रति समाजको अझ जिम्मेवारी रहेको बताए । 

साहित्यकार भरत कुमार श्रेष्ठले पुस्तक ब्यवस्थापनमा सहयोग गर्दै आगामी दिनमा पुस्तकालयमा अझै पुस्तक समावेश गरिने जनाए ।

पुस्तक हस्तान्तरण पश्चात ब्यानर र नेपाली झण्डासहितको उक्त र्‍यालीले गासफोर्ड पार्कमा आएर भगवान गौतम बुद्धको मूर्तिमा पूजा गरेको थियो । 

कार्यक्रमको अन्तिम चरणमा जीवन विज्ञान प्रशिक्षक अन्जना गुरुङले बुद्धबारे प्रवचन दिदै कोभेन्ट्री नेपाली समाजलाई धन्यवाद ब्यक्त गरेकी थिइन् । 

अध्यक्ष पौडेलले उक्त बुद्ध जयन्ती कार्यक्रम सफल बनाउन विभिन्न दाताले आर्थिक सहयोग गर्ने इच्छा ब्यक्त गरेको उल्लेख गर्दै कोभेन्ट्री नेपाली समाजले कतैबाट पनि आर्थिक सहयोग नलिएको जानकारी गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू