सोमबार, वैशाख २४, २०८१
07:56 | १२:४१

बेलायती राजाको राज्याभिषेक: उत्साहित छन् नेपाली

नेपाली लिङ्क मे ५, २०२३

लन्डन । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुन केही समय बांकी रहंदा विश्वको ध्यान लन्डनतिर खिचिएको छ ।

यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ । 

बेलायतमा गएको ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् ।

राजा चार्ल्सले राजमुकुट समेत पहिरिने उक्त समारोहमा विश्व नेताहरु, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौज लगायत झण्डै दुई हजार पाहुना सहभागी हुने अपेक्षा छ । 

टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको एउटा बृहत् समारोहमा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सको शिरमा श्रीपेच पहिरयाउने छन्। 

२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।

राजाले यस समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेका बीबीसीले जनाएको छ ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन  गरेकी महारानी एलिजावेथ द्वितीयाको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यरोहण गरेका चार्ल्स् संसारमै सबैभन्दा बढी उमेरका राजा हुन्। उनी अहिले १५ वटा कमनवेल्थ मुलुकका प्रमुख पनि छन् । 

उनी १४ नोभेम्वर १९४८ मा बकिङ्घम राजदरबारमा जन्मेका हुन्। उनकी आमा रानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गर्दा उनी चार वर्षका थिए। उनले लन्डन र स्कटल्याण्डमा अध्ययन गरेका थिए।

२० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो।

उनले २९ जुलाई १९८१ मा लेडी डायना स्पेन्सरसंग बिहे गरेका थिए। उनीहरुका दुई सन्तान छन् – युवराज विलियम र राजकुमार ह्यारी । उनीहरुबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेन। सन् १९९६ मा उनीहरु अलग अलग बस्न थाले। ३१ अगष्ट १९९७ मा प्यारिसमा एउटा कार दुर्घटनामा लेडी डायनाको निधन भयो।

युवराज चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसंग विधिवत् बिहे गरे।

राजा चार्ल्सले गत सेप्टेम्बरमा शपथ लिंदै गर्दा आफ्नी आमाको उदाहरण पछ्याउने प्रतिवद्धता गर्दै भनेका थिए- ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले उहाँको शासनसंग अरु कसैको तुलना हुन सक्दैन ।’

बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्ध छ । बेलायती महारानी एलिजावेथ द्वितीयाले नेपालमा दुई ऐतिहासिक राजकीय भ्रमण गरेकी थिइन् । 

राजाको राज्याभिषेकमा नेपाली समुदाय पनि उत्साहित छ ।  बेलायतको लेष्टरका नेपालीले राजाको राज्याभिषेकलाई विशेष अवसरका रुपमा मनाउने भएका छन् । श्रृजनशील लेष्टर नेपाल यूकेले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकका अवसरमा एक विशेष समारोह गर्ने भएको हो ।

संस्थाले राजाको दीर्घ जीवन र सफल राजसिंहासनको कामना गर्न ८ मे सोमबार एक कार्यक्रम तय गरेको अध्यक्ष नारायण फुंयालले जनाए।

बेलायती राजसंस्थाको नेपाल सम्बन्ध पनि प्रगाढ छ । राजपरिवारले गोर्खाहरुलाई अति विश्वास गर्छन् भने उनीहरुका कयौं नेपाल भ्रमण समेत भएका छन् । 

राजा चार्ल्सले युवराज हुँदा राजकीय तथा च्यारिटी गरि ५ पटक नेपाल भ्रमण गरेका थिए । उनले पद यात्रा गरेको पोखरा नजिक अन्नपूर्ण हिमालयज मार्गलाई अहिले ‘द रोयल रुट’ नामकरण पनि गरिएको छ। 

दि रोयल गोर्खा राइफल्सका सदस्यहरु राज्याभिषेकमा परेडका लागि अहिले ‘रिहर्सल’ गरिरहेका छन् । 

ब्रिटिश आर्मीको फष्ट रोयल गोर्खा राइफल्स् (वानआरजिआर) मा १३ वर्ष सेवा गरेर अवकास लिएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायती राजसंस्थाप्रति बेग्लै झुकाव र सम्मान रहेको बताए । 

गाहामगरले स्वर्गीय महारानी एलिजावेथसहित राजपरिवार सदस्यहरुसंग निकट हुने मौका पाएका थिए । 

सन् २००१ तिर महारानी दिवंगत भएको स्कटल्याण्ड बाल्मोरलमा प्रिन्स फिलिप र प्रिन्स चार्ल्स (वर्तमान राजा) समरमा स्पोर्ट्स हन्टिङ (वन कुखुरा, मृग आदि मार्ने) मा जांदा आफू उनीहरुको शिकार खेल्ने सामग्रीसहित झोला बोकेर जंगलतिर हिंड्ने गरेको गाहामगरले स्मरण गरे ।

’साथमा ४०–५० वटा कुकुर पनि हुन्थे । मैले झोला बोकेको प्रतिदिन ५० पाउण्ड पाउंथे’, उनी स्मरण गर्छन् ।

सन् २००१ मेतिर स्कटिस युनिट रोयल हाइल्यान्डरमा काम गर्थे उनी । प्रत्येक २५ वर्षमा हुने हाइल्याण्डर परेडमा प्रिन्स चार्ल्स र फ्रिन्स फिलिपलाई भेट्न पाएका थिए गाहामगरले । 

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी बेलायतले भारतमा शासन गर्दाकै समयदेखि बेलायती राजपरिवार सदस्यहरुले शिकार गर्न होस् वा अन्य प्रायोजनका लागि नेपाल भ्रमण गरेको बताउंछन् । ‘त्यसैले बेलायती राजसंस्थाको नेपालप्रति विशेष  लगाव र श्रद्धा विभिन्न रुपमा व्यक्त हुँदै आएको छ’ सुवेदीले भने ।

सुवेदीको बुझाइमा उनी एक भद्र र शालीन राजा हुन् र समाजकल्याणमा उनले ठूलो योगदान दिएका छन् । नेपालप्रति विशेष सद्भाव राख्ने राजा चार्ल्स तृतीयको राज्याभिषेक सफल रहोस् भन्ने पनि उनको शुभकामना छ । 

संसारमा बदलिंदैं गरेको वातावरणीय प्रभावबारे युवराज छँदादेखि नै विशेष चासो राख्दै आएका राजा चार्ल्स तृतीयले नेपालजस्तो मुलुकमा वातावरणीय प्रभावले धेरै असर गर्न सक्ने भएकाले पनि नेपालप्रति विशेष चासो र माया व्यक्त गरेका छन् । नेपाल भ्रमण गरेर नेपालको सुन्दरता र पर्यावरणबाट आफूमा दीर्घकालीन प्रभाव परेको उनले बताएका थिए ।

परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार राती लन्डन आइपुगेका छन् ।

मन्त्री साउद वेष्टमिन्स्टर आबीमा राज्याभिषेक समारोह र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ । 

बेलायतमा ७० वर्षपछि हुन लागेको राज्याभिषेक समारोहप्रति सकारात्मक नकारात्मक धारणा पनि सार्वजनिक भएका छन् । हालै गरिएको ‘यूगभ’ को सर्वेक्षणमा ५२ प्रतिशत लन्डनवासीले करदाताले तिरेको पैसाबाट समारोह गर्न आवश्यक नभएको बताएका थिए । महंगीका कारण जनता आजित भइरहंदा कतिपयलाई यो समारोहप्रति चासो पनि छैन । 

बेलायतको द डिपार्टमेन्ट फर डिजिटल, कल्चर, मिडिया एण्ड स्पोर्टस्ले इभेन्ट नभएसम्म खर्च कति हुन्छ अहिल्यै भन्न नसकिने जनाएको छ तर अखवारहरुले कम्तीमा १०० मिलिअन पाउन्ड खर्च हुने उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू