सोमबार, वैशाख २४, २०८१
22:00 | ०२:४५

परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहका लागि बिहीबार राती लन्डन उत्रंदै

नेपाली लिङ्क मे ३, २०२३

परराष्ट्रमन्त्री एनपी साउद । तस्बिर एपी

लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लन्डन आउने भएका छन् ।

आफ्ना स्वकीय सचिव र श्रीमतिका साथ मन्त्री साउद बिहीबार राती ८.२० बजे लन्डन आइपुग्ने लन्डनस्थित दूतावास श्रोतले जनाएको छ ।

मन्त्री साउदले वेष्टमिन्स्टर आबीमा यही ६ मे तारिख हुने राज्याभिषेक विशेष समारोह र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेलायतमा रहंदा परराष्ट्रमन्त्री साउद अन्य औपचारिक कार्यक्रम समेत सहभागी हुनेछन् ।

मन्त्री साउदको स्वागत सम्मानमा नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार लन्डनमा एक कार्यक्रम गर्ने तयारी गरेको समितिकी महामन्त्री रोमियन लिम्बुले जनाइन् ।

परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

यसैबीच, उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए ।

उनले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पुरयाएको योगदानका लागि आभार प्रकट गर्दै भूपू गोर्खा सैनिकको मागका विषयमा भएका वार्ता सकारात्मक ढंगले अघि बढिरहेको बताएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू