सोमबार, वैशाख २४, २०८१
23:19 | ०४:०४

लन्डनमा तमु समाज यूकेको २५६७ औं बुद्ध जयन्ती तथा दोमाङ पूजा

नेपाली लिङ्क मे २, २०२३

लण्डन- तमु समाज यूकेले २९ अप्रिल शनिवार २५६७ औं बुद्ध जयन्ती तथा दोमाङ पूजा कार्यक्रम गरेको छ । लन्डनको वेम्बली बरहामपार्कस्थित तमु समाज यूके नेपलीज कम्युनिटी सेन्टरमा भब्यताका साथ कार्यक्रम भएको हो ।

आमा समूहको सहयोग, खेलकुद तथा खाद्य सचिव हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख गुरु थिए बीसीसी यूके प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछे । पूजा संचालनमा अन्य लामा गुरुहरु लामा दावा नोर्बु, लामा स्यानु र लामा मिङमार संलग्न थिए।

प्रमुख अतिथि तथा प्रमुख गुरु रिम्पोछे तथा अन्य लामा गुरुहरुलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरे पस्चात तमु समाज यूके अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ र आमा समूहकी उपाध्यक्ष मथुरा देवी गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरि बुद्ध जयन्ती तथा दोमाङ पूजा शुभारम्भ गरिएको थियो ।  

कार्यक्रममा सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ र अन्य पदाधिकारी तथा आमा दिदीबहिनी, लण्डन वरपरका नेपाली जेष्ठ नागरिक र श्रद्धालु भक्तजनहरुको उपस्थिति थियो।

सन् २००७ सालमा स्थापना भई सन् २०१२ मा बेलायतको च्यारिटी कमिसनमा औपचारिक रुपमा दर्ता भएको संस्था तमु समाज यूकेले स्थापनाकाल देखि निरन्तर बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको आवसरमा बुद्ध जयन्ती पूजा संचालन गर्दै आएको छ। 

विगत वर्षहरुझै यस वर्षको पूजा कार्यक्रम पनि आमा समूहको सकृयतामा निशुल्क भएको थियो । निशुल्क खानपिन ब्यवस्थापन तथा केटरिङ पनि आमाहरु आफैंले गरेका थिए। यसका निम्ति समूहका सबै आमा दिदिबहिनीहरु सकृयताका साथ जुटेका थिए ।

बुद्ध जयन्ती पूजा कार्यक्रम गर्न थुप्रै दानवीरले स्वतस्फूर्त श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ र अन्य आवश्यक पूजा सामग्री प्रायोजन तथा दान उपलब्ध गराएका थिए। 

बिहान ८:३० बजे आरम्भ गरिएको बुद्ध जयन्ती तथा दोमाङ पूजापाठ कार्यक्रममा प्रमुख गुरु टल्कु जिग्मे सामतेन रिम्पोछेले दोमाङ पूजापाठबारे उपस्थित सबैलाई संक्षिप्त जानकारी गराएका थिए। 

कार्यक्रमको अन्तमा उपस्थित भक्तजनहरुले प्रमुख अतिथि तथा प्रमुख गुरु रिम्पोछेबाट अभिषेक तथा अन्य श्रद्धेय लामा गुरुहरुबाट प्रसाद ग्रहण गरेपछि अपरान्ह ५ बजे कार्यक्रम समापन गरिएको थियो। 

तमु समाज यूकेका महासचिव धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राख्दै पूजा संचालन गर्ने लामा गुरुहरु, आर्थिक सहयोग गर्ने चन्दादाता, विभिन्न परिकारका भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने प्रायोजक, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिवार र उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए ।


कार्यक्रममा महासचिव धरमबल गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिएका थिए भने महासचिवले नै विभिन्न सहयोग तथा दान गर्ने दाताहरुको नामावली धन्यबादसहित पढेर सुनाएका थिए।

शान्ति, मोक्ष प्राप्ति र भगवान बुद्धको श्रद्धा एवंम भक्ति भावका निम्ति आयोजना गरिएको उक्त बुद्ध जयन्ती तथा दोमाङ पूजापाठ कार्यक्रमको मध्यान्हमा कलाकार सम्मान कार्यक्रम पनि संलग्न गरिएको थियो। कार्यक्रममा बेलायत भ्रमणमा रहेका चलचित्र निर्माता, निर्देशक एवं नायक प्रितम गुरुङलाई सम्मान गरियो । 

तमु समाज यूकेले प्रथम गुरुङ (तमु) चलचित्र ‘पातें’ को नायकका रुपमा कला क्षेत्रमा प्रवेश गरेका प्रितम गुरुङलाई विशेष गरेर गुरुङ (तमु) कला र समग्र नेपाली कला क्षेत्रमा पुरयाएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा तथा कदर गर्दै २५६७औं बुद्ध जयन्ती कार्यक्रमको पावन अवसरमा ‘तमु समाज यूके विशिष्ठ समाज सेवा सम्मान पत्र’ प्रदान गरिएको हो। 


नायक गुरुङलाई समाजका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले फेटा खादा लगाई पुष्पा गुच्छा सहित सम्मान पत्र प्रदान गरेका थिए।

यसै अवसरमा प्रथम गुरुङ (तमु) चलचित्र ‘पातें’ की नायिका तथा तमु समाज यूके पूर्व साँस्कृतिक सचिव सरु गुरुङ रानालाई पनि पुष्पगुच्छा प्रदान गरि सम्मान गरियो । 

सम्मानित भएपछि चलचित्रकर्मी तथा नायक गुरुङले बेलायतमा यति ठूलो सम्मान गरेकोमा तमु समाज यूकेप्रति आभार प्रकाट गर्दै धन्यवाद व्यक्त गरे । 


कलाकारिताको माध्यमबाट जीवनको महत्वपूर्ण समय आफ्नो समुदायलाई दिन पाएकोमा खुशी व्यक्त गर्दै नायक गुरुङले जीवनको अनन्तकालसम्म यही क्षेत्रमै रहिरहने प्रतिद्धता पनि व्यक्त गरेका थिए।

चलचित्र क्षेत्रमा ३ दशक जति निर्माता-निर्देशक र नायकको रुपमा लागि परेका प्रितम अहिले आफ्नो ४९औं फिल्म ‘रिपा’ प्रदर्शनका क्रममा बेलायत आएका हुन् ।

-शिवशरण गुरुङ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू