सोमबार, वैशाख २४, २०८१
10:52 | १५:३७

लन्डनका व्यवसायी लामिछानेले जन्मथलोमा प्रदान गरे शैक्षिक सामग्री

नेपाली लिङ्क मे १, २०२३

लन्डन । लन्डनका एक सफल व्यवसायी रविन्द्रजंग लामिछानेले आफू पढेको स्कुलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

समाजसेवी लामिछानेले पर्वतको मोदी गाउँपालिका ६ तिलाहारस्थित नवजागृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

समाजसेवी लामिछानेद्धारा स्थापित द लामिछाने फाउण्डेशन बेलायतबाट उक्त विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्म पढ्ने १ सय २० जना विद्यार्थीलाई ब्लु ब्याग, कापी तथा सिसाकलम वितरण गरिएको हो ।

आफ्ना वुवा चन्द्रजंग लामिछाने र आमा रुक्बिना लामिछानेको स्मृतिमा स्थापित रविचन्द्र ट्रष्ट तथा द लामिछाने फाउण्डेशन बेलायतबाट संकलित रकमले विद्यार्थीलाई उक्त सहयोग गरिएको संस्थापक रविन्द्रजंग लामिछानेले बताए ।

आफ्नो जन्मथलोमा शैक्षिक विकासका लागि केही योगदान गर्नुपर्छ भन्ने मान्यताका साथ संस्थामार्फत शैक्षिक सामग्री सहयोग गरेको लामिछानेले बताए ।

व्यवसायी लामिछानेले नेपालमा विद्यार्थीलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गरि 
शैक्षिक सहयोग गर्दै आएका छन् । उनले उक्त विद्यालयमा बस पनि सञ्चालन गर्ने सोच भइरहेको जनाउंदै शैक्षिक सत्र शुरु हुनुअघि यस्ता सामग्री वर्षेनी बांडिने समेत बताए ।

द लामिछाने फाउण्डेसन यूके संयोजक लक्ष्मी राई, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा र वडाध्यक्ष दीपेन्द्रजंग लामिछानेले शैक्षिक सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।

मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले विदेशमा रहेर पनि सामाजिक अभियान सञ्चालनमा अग्रणी भूमिका खेलेको भन्दै द लामिछाने फाउण्डेशनका संस्थापक रविन्द्रजंग लामिछानेको प्रशंसा गरिन् ।

उनले शैक्षिक विकासमा राज्यको मात्रै एकल लगानीले खासै उपलब्धि नहुने भएकाले यस्ता सामाजिक संघसंस्थाले पनि सहयोग गर्नुपर्नेमा जोड दिइन् । शर्माले विद्यालयका विद्यार्थीको अध्ययनमा ट्रष्टको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरिन् ।

मोदी गाउँपालिका ६ का वडाध्यक्ष दिपेन्द्रजंग लामिछानेले मोदी गाउँपालिका शैक्षिक विकासको क्षेत्रमा अगाडि बढिरहेकाले यस्ता संस्थाको सहयोगले अझै प्रेरणा प्रदान गर्ने बताए । संस्थाको सहयोगप्रति वडा कार्यालयको तर्फबाट लामिछानेले आभार व्यक्त गरे ।

विद्यालयको तर्फबाट नवजागृत माविका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले धन्यवाद व्यक्त गरे । उनले पर्वत जिल्लाका सामूदायिक विद्यालय मध्येमा उत्कृष्ठ नतिजा हासिल गर्दै आएको आफ्नो विद्यालय सामाजिक संघसंस्थाकै कारण सफलताको दिशामा अगाडि बढेको उल्लेख गरे ।

उक्त कार्यक्रममा सहयोगी संस्थाका संरक्षक महेन्द्रजंग लामिछानेले सामाजिक विकासका लागि संस्थाले काम गर्दै आएको बताए । विगतमा भूकम्प, कोभिड महामारीका बेला पनि संस्थाले सहयोग गर्दै आएको उनले स्मरण गरे । उनले आगामी दिनमा संस्थालाई अझ समाजसेवाको क्षेत्रमा व्यापक बनाउने सोचमा रहेको जानकारी समेत दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू