सोमबार, वैशाख १७, २०८१
10:17 | १५:०२

लन्डन बस्ने नेपाली युवाको बलिउड यात्रा

नेपाली लिङ्क अप्रिल ३०, २०२३

लन्डन । बलिउड फिल्म कविर सिंह निर्देशन गरेका सन्दीप रेड्डी भांगा ग्याङसटर ड्रामा ‘एनीमल’ को छायांकनका लागि लन्डनमा कलाकार खोजिरहेका थिए । इण्डियापछि लन्डनको भाग छायांकन गर्नुपर्ने थियो ।

एउटा इण्डियन एजेन्सीले टंक धमला (लियो) लाई भन्यो, ‘सन्दीपले लन्डनमा केही कलाकार खोजिरहेको छ । बायोडाटा, फोटोहरु पठाइदेऊ छानिने चान्स छ ।’

टंकले आफ्ना केही तस्विर र बायोडाटा एजेन्सीलाई पठाएपछि निर्देशक सन्दीपले उनलाई भेट्न बोलाए आफू बसिरहेको लन्डन प्याडिङटनस्थित एक होटलमा । हिन्दी, अंग्रेजी बोल्न लगाए, अभिनय गर्न भने । टंकले सबै गरिदिएपछि सन्दीपले तत्काल प्रतिक्रिया जनाउंदै प्रशंसा गरे- ‘वेल डन । अभिनय र अंग्रेजी, हिन्दी दुवै राम्रो बोल्दा रहेछौ ।’

त्यसपछि सन्दीपले सहायक निर्देशक प्रतीकसंग टंकको चिनजान गराइदिए । प्रतीकले टंकको सम्पर्क नम्बर मागेर यसअघि खेलेका फिल्म वा म्यूजिक भिडियो भए पठाइदिन भनेपछि टंकले पठाइदिए, केही दिनमै खवर आयो- ‘तिमी आउनु ।’

बलिउडका रणबीर कपुर, बबी देओल, अनिल कपुर तृप्ती डिम्री, रस्मिका मन्दना आदि कलाकार अभिनित एनीमलमा छानिएपछि टंकको खुशीले सीमा नाघ्यो ।

लन्डनमा पेशाले चार्टर्ड अकाउन्टेन्ट टंकले यसअघि नेपाली, ब्रिटिश फिल्ममा काम गरिसकेका थिए । बलिउड र नेपाली कयौं म्यूजिक भिडियोमा पनि । तर, बलिउडको ठूलो ब्यानर अनि नाम चलेका कलाकारसंग जोडिन पुग्दा उनी दंग र उत्साहित थिए ।

गील्फोर्ड एयरपोर्ट, हर्टफोर्डसायरस्थित ब्रोकेट हललगायत हेरिटेज साइटमा १३ दिन छायांकन भयो उनको भाग । यसअघि थुप्रै प्रोजेक्ट गरिसकेकाले क्यामेरा फेस गर्न कुनै संकोच नलागेको बताउंछन् उनी । बबी देओलका भाइको भूमिकामा देखिनेछन् टंक ।

‘बलिउड टिमसंग काम गर्दा व्यवसायिक कुरा धेरै सिकें र आत्मविश्वास पनि बढ्यो’, उनले भने, ‘मलाई बलिउडको प्रोजेक्टले यस क्षेत्रमा थप प्रेरित गरेको छ । अवसर पाए नसकिने केही हुंदो रहेनछ भन्ने लाग्यो ।’

अप्रिल एकदेखि १६ सम्म इन्गेज भएर उनले नेपाली रुपैयां दश लाखजति पारिश्रमिक पनि पाए । रणबीर, बबी देओल लगायत ‘क्रु’ सदस्यहरुसंग नजिक उठ्बस हुंदा उनले धेरै सिके । उक्त फिल्म अगष्ट दोश्रो साता रिलिज गर्ने योजनासहित पोष्ट प्रोडक्सनमा छ ।

एनीमलमा खेले लगत्तै टंकले लंगफोर्ड एसोसिएट्स नामक एजेन्सीसंग सम्झौता गरेका छन् जसले मिडिया र मनोरन्जनका क्षेत्रमा तीन दशकबढी समयदेखि काम गरिरहेको छ ।
‘यो सम्झौताले मेरो करिअर अझ द्रुत गतिमा बढ्ने आशा छ’, उनले सुनाए ।

कैलाली लम्कीका टंक सानैदेखि कलाकारिताप्रति रुचि राख्थे । स्कुलतिर नाटक गर्थे, पढाइभन्दा रंगीन क्षेत्र नै रमाइलो लाग्थ्यो । बेलायत आउनुअघि रेडियो नेपालमा थिए उनी । १३ वर्षअघि बेलायत पढ्न आएका उनी 
करिब ८ वर्षअघिदेखि कलाकारितामा होमिए ।

लन्डनको किङडम स्कुल अफ आर्टस्मा एक वर्ष प्रशिक्षण र भारतको यात्री थिएटर ग्रुपसंग ६ महिना ड्रामा सिकेका टंक अहिले नृत्य समेत सिक्दैछन्, जिम त नियमित भइहाल्यो । ‘अभिनय खासमा मानिसको अन्तरमनदेखि आउने विशेष कला हो जस्तो लाग्छ । सिकेर मात्र पनि हुंदैन्’, उनी भन्छन् ।

खासमा उनलाई यस क्षेत्रमा त्यति संघर्ष भएन । सेन्ट्रल लन्डनको प्रख्यात सोफेर प्लस कम्पनीमा अकाउन्ट्स एण्ड ट्याक्स म्यानेजर उनले जागिरको व्यस्तताबीच अभिनयलाई समय छुटयाएका हुन् । ‘मेरो होलिडे नै फिल्म सुटिंगमा सकिन्छ’, उनी भन्छन् ।

ब्रिटिश एयरवेज, स्वीस एयरवेज, सन् २०१८ को विश्व कपका बेला कोकाकोला लगायत कयौं नेपाली र अंग्रेजी विज्ञापनमा उनले काम गरिसकेका छन् । नेपाली फिचर फिल्म सरौतो, ब्रिटिश फिल्म ‘डेन्जरस गेम’ र नेपाली निर्देशकको अंग्रेजी सर्ट मुभी ‘कर्मा’ मा पनि उनको लिड 
रोल थियो ।

एनीमलबाहेक बलिउड निर्देशक जाइघम इमामको सुपर वुमन र दिवाकर भट्टराईको हनी बनी (मुख्य खलपात्र) फिल्म पनि प्रदर्शन हुंदैछन् ।

टंकले गत वर्ष अडिसनमार्फत भारतीय लेखक, निर्देशक विनयराम तिवारीको ‘तेरे बादे’ म्यूजिक भिडियोमा पनि खेल्ने अवसर पाए । त्यसबाहेक बेलायत बस्ने कुशल श्रेष्ठ र डा. कपिल रिजालको निर्देशनमा बनेका कयौं म्यूजिक भिडियोमा पनि उनको भूमिका छ ।

आफू पेशाले अकाउन्टेन्ट भएपनि अभिनयबाट टाढा हुन नसक्ने बताउंछन् उनी । नेपाली फिल्मबाट राम्रो अफरको प्रतिक्षामा छन् टंक । नेपाली फिल्ममा काम गरेर अन्तर्राष्ट्रिय चिनारी हुन सहज नभएपनि आफ्नो मातृभूमि र नेपाली माटोको सुगन्धले बेग्लै आनन्द दिने उनको अनुभव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू