सोमबार, वैशाख २४, २०८१
00:54 | ०५:३९

हेल्प नेपाल नेटवर्क यूकेले नेपाल बालगृहलाई पाँच लाख पठाउने

नेपाली लिङ्क अप्रिल २८, २०२३

लन्डन – गत आइतबार लण्डनको वुलवीचमा आयोजना गरिएको ‘अर्को मुखर्जी सांगीतिक साँझ’ बाट खर्च कटाएर झन्डै साढे चार लाख रुपियाँ वचत भएको हेल्प नेपाल नेटवर्क यूकेले जनाएको छ ।

दि ट्रामसेड थियटर, वुलवीचमा आइतबार आयोजित सांगीतिक साँझमा चर्चित भारतीय गायक अर्को मुखर्जीले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए । 

उनले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका कालजयी गीत लगायत अन्य कोसेलीहरु प्रस्तुत गरेका थिए भने दाजुभाइ ब्याण्डका गायक अमित मगरले लोकप्रिय नेपाली गीतहरु सुनाएर दर्शकलाई नचाएका थिए।

कार्यक्रमको टिकट बिक्री तथा स्पन्सरशिपबाट ४,९०८ पाउण्ड आम्दानी भएको हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए। 

उठेको रकमबाट अर्को मुखर्जीले सहयोग गरिरहेको कोलकातास्थित प्रियोनाथ मन्ना बस्ती कम्युनिटी किचेनका लागि एक हजार पाउण्ड प्रदान गर्नुका साथै थियटरको भाडा लगायत कूल २,१५१ पाउण्ड खर्च भएको उनले बताए। 

खर्च कटाएर बाँकी रहेको २,७५६ पाउण्ड (झन्डै ४४३,००० रुपियाँ) मा हेल्प नेपाल नेटवर्क यूकेको कोषमा रहेको रकम थप गरेर रु पांच लाख हेल्प नेपाल बाल गृहका लागि पठाइने पनि उनले जनाए। 

सन् २०१४ देखि धुलिखेलमा सञ्चालित उक्त बाल गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्। अध्यक्ष श्रेष्ठले प्रायोजक, स्वयंसेवी लगायत सम्पूर्ण दर्शकहरुलाई पनि धन्यवाद दिएका छन्।

“मातृभूमिका लागि महिनामा एक पाउण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट सो नेटवर्क (www.helpnepal.net) स्थापना गरिएको थियो। 

नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको छ। नेटवर्कले  नेपालका एक सय बढी स्कुलहरुमा कक्षा कोठा  निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।

तस्बिर-कुशल श्रेष्ठ

यस्तो छ आयव्यय विवरण

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू