सोमबार, वैशाख २४, २०८१
10:11 | १४:५६

लन्डनमा गुथि सेमिनार, बेलायती समाजमा नेवाः कला संस्कृतिबारे चर्चा

नेपाली लिङ्क अप्रिल २८, २०२३


लन्डन । पासा पुच गुथि यूके लन्डनले गत २२ अप्रिल शनिबार एक ‘गुथि सेमिनार’ गरेको छ ।

लन्डनस्थित सोआस युनिभर्सिटीको खालिली लेक्चर सेन्टरमा ‘समकालिन बेलायती समाजमा नेवाः’ विषयक सेमिनार भएको हो ।

उक्त सेमिनारमा ७० भन्दा बढी सहभागी थिए । चार सेसनमा विभाजित उक्त सेमिनारमा १२ वक्ताले आफ्ना धारणा राखे । कला र संस्कृति, भाषा र खाना, विज्ञान प्रविधि र इन्जिनियरिङ (स्टेम) र वित्त तथा उद्यमशीलता गरि चार सत्रमा कार्यक्रम भएको हो ।


उक्त सेमिनारको प्रमुख वक्ता थिए प्राध्यापक गेरार्ड टोफां ।टोफां प्रख्यात फ्रान्सेली मानवशास्त्री तथा इण्डोलोजिष्ट हुन् जो नेपाल र नेवा समुदायको अध्ययनमा विशेष दख्खल राख्छन् । नेवाः गुथिमा उनको अनुसन्धान मानवशास्त्र क्षेत्रका लागि ठूलो योगदान मानिन्छ ।

पासा पुच गुथि यूके लन्डनकी महासचिव लिसा दली श्रेष्ठको स्वागत मन्तव्यसंगै शुरु भएको थियो सेमिनार । त्यसपछि पासा पुच गुथि यूके अध्यक्ष रुक्मणी मानन्धरले आफ्नो मन्तव्यसहित सबैलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रम संयोजक मधुसुदन कायस्थले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै सेमिनारको उद्देश्यबारे प्रकाश पारेका थिए ।

कला र संस्कृति विषयक पहिलो सत्रको अध्यक्षता पासा पुच गुथि यूके पूर्व अध्यक्ष संयुक्त श्रेष्ठले गरेका थिए भने वक्ताहरु पत्रकार सुविना श्रेष्ठ, भिएफएक्स आर्टिष्ट सन्दिप तुलाधर र लेखिका क्रिष्टिना चित्रकार थिए ।

वक्ताहरुले ‘देवी’ चलचित्र, एनिमेसनको महत्व तथा हालै प्रकाशित ‘नेपाल रिमेम्बर्ड’ बारे बोले ।


दोश्रो सत्र भाषा र खानाबारे थियो जसको अध्यक्षता प्राध्यापक डेभिड गेल्नरले गरेका थिए । गेल्नर अक्सफोर्ड विश्वविद्यालयमा समाज मानवविज्ञानका प्राध्यापन हुन् जसले नेपाल र नेवाःबारे गहन खोज तथा अनुसन्धान गरेका छन् । पासा पुच गुथि यूकेका संरक्षक पनि भएका थिए गेल्नर ।

सोआस् युनिभर्सिटी अफ लन्डनका पोष्ट डक्टरल फेलो डा. अलेक्सजाण्डर जेम्स् ओ निल, युसिएलमा शिक्षा संकायकी प्राध्यापक डा. उमा प्रधान र कोर्क विश्वविद्यालयकी सहप्राध्यापक म्यारिलेना फ्रिसोनले पनि वक्ताका रुपमा आफ्नो धारणा राखेका थिए ।

प्रचलित लिपीका लागि हस्तलिखित पहिचान गर्ने प्रविधि, नेपाल भाषा स्कुल नेपालमा भाषा शिक्षा र ज्ञान तथा लन्डनमा नेवारी खाना ‘छोयला’ को ख्यातिबारे पनि उक्त सत्रमा चर्चा गरियो ।


नेवारी दिवा भोजपछि प्राध्यापक गेरार्ड टोफांले नेवारी गुथि प्रणाली, परम्परा र आधुनिकताबारे प्रकाश पारेका थिए । सहभागीले प्राध्यापक टोफांको नेवाः गुथि अध्ययनमा उल्लेखनीय योगदानप्रति उठेर जयजकार गरेका थिए ।


तेश्रो, विज्ञान प्रविधि र इन्जिनियरिङ (स्टेम) सत्रको अध्यक्षता डा. सचेतन तुलाधरले गरेका थिए । उनी पासा पुच गुथि यूके लन्डनका पूर्व अध्यक्ष हुन् ।

वरिष्ठ सफ्टवेयर इन्जिनियर दीपक श्रेष्ठ, पशु चिकित्सक डा. कृषा मानन्धर र दन्त विशेषज्ञ डा. अनिल श्रेष्ठले आफ्नो व्यवसायिक यात्राको अनुभव सुनाएका थिए ।

अन्तिम, वित्त तथा उद्यमशीलता सत्रको अध्यक्षता पासा पुच गुथि यूके (बोर्ड अफ ट्रष्टी) अध्यक्ष ओजेश सिंहले गरेका थिए । उक्त सत्रमा मोर्गेज विज्ञ तथा व्यवसायी प्रजेश श्रेष्ठ, दीगो वित्तसम्बन्धि जानकार बार्कलेजका सुरज कर्माचार्य र युवा उद्यमी सुशील प्रजापति वक्ताहरु थिए ।

उनीहरुले दीगो वित्त, व्यक्तिगत सफलताका कथा र समुदायमा ‘पुल निर्माण’ आदिबारे उल्लेख गरे ।


ओजेश सिंहले समापन मन्तव्य दिंदै आयोजक कमिटीका मधुसुदन कायस्थ, लिसा दली श्रेष्ठ, पब्लिका श्रेष्ठ र मारिलेना फ्रिसोन, प्रमुख वक्ताहरु, विभिन्न सत्रका अध्यक्ष, सहभागी लगायत सबैप्रति आभार व्यक्त गरे ।

आयोजकले उक्त सेमिनार सफल भएको निष्कर्ष निकाल्दै आधुनिकता र अन्वेषणलाई अनुशरण गर्दै परम्परागत नेवाः संस्कृति र परम्परा जगेर्ना गर्नुपर्नेमा वक्ताहरुको एकमत रहेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू