आइतबार, जेठ ६, २०८१
02:16 | ०७:०१

नेपाल-ब्रिटेन द्विपक्षीय परामर्श संयन्त्र बैठकमा उठ्यो गोर्खा मुद्दा

नेपाली लिङ्क अप्रिल २७, २०२३

लन्डन – बेलायतले नेपाल सरकारलाई अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्न आवश्यक सहयोग गर्ने जनाएको छ।

नेपाल-ब्रिटेन द्विपक्षीय परामर्श संयन्त्रको बुधबार लन्डनमा भएको छैटौं बैठकमा ब्रिटिश अधिकारीहरुले त्यस्तो जनाएका हुन्।

‘ब्रिटिश पक्षले अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्ने तर्फ नेपालको संक्रमण, दिगो विकास लक्ष प्राप्त गर्ने तर्फ प्रगति, जलवायु परिवर्तनसंग जुध्ने परियोजनाहरुमा लगानी परिचालन, खास गरी शिक्षामा पहुँचका लागि छात्राहरुको पहुँचमा विस्तार लगायतका प्राथमिकता क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ,’ लन्डनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे दुवै सरकारका प्रतिनिधिहरुबीच भइरहेको वार्ताको प्रगतिबारे पनि बैठकमा छलफल गरिएको विज्ञप्तिमा छ। 

त्यस्तै बैठकमा व्यापार, लगानी, पर्यटन, शिक्षा, मानव श्रोत विकास र जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरिएको थियो। 

दुवै पक्षले ब्रिटिश इन्टरन्याशनल इनभेसटमेन्ट (बीआइआइ) जस्ता निकायबाट नवीकरणीय उर्जा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी बढाउनेबारे पनि छलफल भएको थियो। 

गत मार्च महिनामा ब्रिटिश सरकारको पूर्ण स्वामित्व रहेको बीआइआइले नेपालमा निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकमा रु एक अर्ब भन्दा बढी लगानी गरेको थियो।

बेलायतले संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा नेपालले दोश्रो धेरै सेना पठाएकोमा प्रशंसा समेत गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भारतराज पौड्यालले गरेका थिए । उक्त बैठकमा सहभागी हुन  नेपालबाट पौडयाल, उद्योग तथा वाणिज्य सचिव मधु मरासिनी, रक्षा सहसचिव आलोक श्रेष्ठ, मेजर जनरल सितध्वज खड्कासहित ६ जनाको प्रतिनिधिमन्डल बेलायतमा छ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपप्रमुख रोशन खनाल लगायत पनि बैठकमा थिए ।  

ब्रिटिश पक्षबाट सचिव सर फिलिप बार्टोनी, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट लगायतको सहभागिता थियो ।


यसैबीच, परराष्ट्र सचिव पौड्याल र बेलायती विदेश मन्त्रालयका सचिव सर फिलिप बार्टोनीच भएको बेग्लै बैठकमा दुई देशबीच एक शताब्दी लामो मैत्री सन्धि, द्विपक्षीय सहयोग, भ्रमण आदानप्रदान लगायत बिषयमा छलफल भएको दूतावासले जनाएको छ । 

अघिल्लो दिन नेपाल र बेलायतबीच मैत्री सन्धि भएको एक शताब्दी प्रवेश गरेको अवसरमा लण्डनमा एक विशेष कार्यक्रम भएको थियो ।

बेलायती विदेश मन्त्रालय र लन्डनस्थित नेपाली दूतावासले ब्रिटिश लाइब्रेरीको सहयोगमा कार्यक्रम गरेका हुन् जसमा बेलायती र नेपाली सहभागी थिए । सन् १९२३, २१ डिसेम्बरमा यी दुई मुलुकबीच उक्त सन्धि भएको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू