आइतबार, जेठ ६, २०८१
02:16 | ०७:०१

सुडानमा चार हजार बेलायती फसेको अनुमान, ३०० को उद्धार

रासस/सिन्ह्वा अप्रिल २६, २०२३

लण्डन, १३ वैशाख –द्वन्द्वग्रस्त सुडानबाट बेलायतले चार वटा उडानमार्फत ३०१ जनालाई उद्धार गरेको बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबाार बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, “सुडानबाट बुधबार मात्र ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरेको छ । सरकारले व्यवस्था गरेको थप चार उडानहरू बुधवारको अन्त्यसम्ममा सुडानबाट प्रस्थान गर्नेछन् ।”

सुडानको राजधानी खार्तूम र अन्य स्थानमा अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक रयापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच हिंसात्मक झडप भएको थियो । मङ्गलबार ७२ घण्टे युद्धविरामका लागि दुवै पक्षले सहमत भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति सुरु भएयता अहिलेसम्म ४०० भन्दा बढीको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन् ।

यस पहिले सुडानबाट अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, साउदी अरबलगायत एशियाली मुलुकका नागरिकहरूलाई पनि ती मुलुकले उद्धार गरेका थिए भने उनीहरूले थप उद्धार कार्य जारी राखेको जनाएका छन् । अन्य देशले जस्तै बेलायतले मङ्गलबारदेखि आफ्ना नागरिकलाई ठूलो मात्रामा सुडानबाट उद्धार गर्न शुरु गरेको हो ।

बेलायती सरकारले उत्तरपूर्वी अफ्रिकी देशमा करिब चार हजार बेलायती राहदानीबाहक फसेको अनुमान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू