आइतबार, जेठ ६, २०८१
00:48 | ०५:३३

बेलायतबाट निकालिए १०० बढी नेपाली सुरक्षागार्ड

नेपाली लिङ्क अप्रिल २६, २०२३
लन्डन । बेलायतले हिंसाग्रस्त अफगानिस्तानस्थित बेलायती दूतावासमा कार्यरत एकसय भन्दा बढी नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला गरेको खुलेको छ।
अफगानिस्तानमा बेलायती दूतावास कर्मचारीको जीवन रक्षा गर्न खटिएका ति नेपाली गार्डलाई बेलायत बस्ने इच्छाविपरित जवर्जस्ती निकाला गरिएको गार्डियनले उल्लेख गरेको छ ।
तालिवान सत्तामा आएपछि बेलायतसहित पश्मिा राष्ट्रहरुले गत अगष्ट २०२१ मा काबुलबाट हजारौंको उद्दार गरेका थिए । बेलायतको रोयल एयर फोर्स (आरएएफ) ले पनि आफ्नो दूतावासमा कार्यरत नेपाली, भारतीयसहित करिब २४ हजार ५ सय नागरिकको उद्दार गरेको थियो ।
बेलायती अखवार गार्डियनले खुलासा गरे अनुसार अन अराइल ६ महिना भिसा हुंदा समेत बेलायतले उनीहरुलाई यूके उद्दार गरे लगत्तै यहांबाट देश निकाला गरेको हो ।
ति गार्डहरुलाई बेलायतको नर्थ हयाम्पटन, रेडिङ, अक्सफोर्ड र स्वीन्डनका होटलमा १० दिन क्वारेन्टाइन पनि नसकिंदै डिपोर्ट गरेको समाचारमा उल्लेख छ । त्यतिबेला कोभिड महामारी नियन्त्रणका लागि बेलायतले बाहिरबाट आउने यात्रुहरुलाई १० दिन होटलमा क्वारेन्टाइन बस्नु पर्ने वाध्यात्मक नियम लागू गरेको थियो ।
यूके उद्दार गरिएका केहीले भने शरणार्थी भिसाका लागि आवेदन दिन भ्याएका थिए।
देश निकाला गरिएका एक गार्डले आफूहरुलाई यूके बोर्ड सेक्यूरिटी फोर्सले भ्रमित तुल्याइ आफ्नो बस्ने चाहना विपरित देशबाट हटाएको बताएका छन् । उनले आफूहरुलाई कहिल्यै मानवीय रक्षाका लागि बेलायत बस्ने मौका पनि नदिएको बताए ।
लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले यस घट्नाबारे आफूहरुलाई  थाहा नभएको बताइन् । गत मार्चको घट्नामा दूतावासले निकट काम गरिरहेको बताउंदै उनले त्यसबेलाको घट्ना दूतावाससम्म नआएको उल्लेख गरिन्।
होम अफिसका प्रवक्ताले जोखिममा रहेका मानिसको उद्दार गर्न सरकार कटिवद्ध रहेको र त्यही मान्यता अनुरुप झण्डै २५ हजारलाई बेलायत ल्याइएको गार्डियनसंग बताएका छन् । ति प्रवक्ताले अफगान सिटिजन्स् रिसेटलमेन्ट स्किम (एसीआरएस) मा योग्य नभएका केही नेपालीलाई सद्भावस्वरुप उद्दार गरिएको जनाउंदै उनीहरुलाई आफनो देश फिर्ता हुनुअघि सहयोग गरिएको उल्लेख गरेका छन् ।
गत मार्चमा पनि बेलायतको गृह मन्त्रालय (होम अफिस) ले वेष्ट लन्डन होटलमा छापा मारेर कम्तीमा दश नेपाली गार्डलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउको व्यापक विरोध भएपछि होम अफिसले तत्कालका लागि देशबाट हटाउने निर्णय केही समय स्थगित गरेको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू