आइतबार, जेठ ६, २०८१
02:24 | ०७:०९

नेपाल स्कटल्याण्ड फ्रेण्डसीप फोरममा नयाँ नेतृत्व

नेपाली लिङ्क अप्रिल २२, २०२३

लण्डन- काल गणना अनुसार ऋतु, समय फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन छ । अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुराको कुनै स्पष्ट तिथिमिति प्रमाण छैन, तैपनि पृथ्वीमा मानव विकाससँगै जहिलेदेखि समयको गणना गर्ने र त्यसलाई दिन, महिना, वर्षमा मानिने चलनको विकास भयो, त्यही समयदेखि नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । 

नेपालमा पनि विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । कुनै समुदाय विशेष हुन्छन्, कुनै धर्म विशेष त कुनै राज्य सत्ताले आफ्नो दैनिकी कामकाजको लागि अङ्गीकार गरेका संबत् छन् । तीमध्ये विक्रम संवत् पनि एक हो जुन आम नेपाली जनसमुदाय र राज्यले पनि अङ्गीकार गरेको संबत् हो ।

२०औँ शताब्दीबाट जब नेपालीहरू अध्ययन, रोजगारी, आप्रवासीको रूपमा संसारका विभिन्न देशमा बस्न थाले तब त्यहाँ पनि उनीहरूले आफ्ना चाडपर्व, संस्कार र संस्कृति पनि साथै लिएर गए । 

यसै क्रममा नयाँ वर्ष विक्रम संवत २०८० साललाई बेलायतको एउटा राज्य स्कटलैण्डको डण्डी र टेसाइड क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको सामुदायिक संस्था ‘नेपाल स्कटल्याण्ड फ्रेण्डसीप फोरम’ को आयोजनामा डन्डी शहरमा भव्य रूपमा  मनाइयो । 

लगभग ९० जना स्थानीय नेपाली सहभागी कार्यक्रम भारतीय आश्रमको सभाहलमा भएको हो । कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गरे । 

संस्थाकी सल्लाहकार तथा पूर्व अध्यक्ष डा. शिला त्रिपाठीले फोरमको इतिहास र गरेका कामबारे जानकारी दिएकी थिइन् भने निवर्तमान अध्यक्ष शोभा भट्टराईले आफ्नो कार्यकालमा भएका कामको जानकारी दिँदै सफलतापूर्वक कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् 

कार्यक्रममा सहभागीहरुले नेपाली लोकप्रिय गीत संगीतमा नाच गान समेत गरेका थिए । राधा खत्री, महेश्वर खनाल र नवीन बर्देवाले गीत प्रस्तुत गरेका थिए भने वालकलाकारहरुले नृत्य एवं मनोरञ्जनात्मक प्रस्तुति गरे । 

प्रतिव्यक्ति प्रवेश शुल्क पाँच पाउण्डमात्र उठाइएको कार्यक्रममा गोर्खा तन्दुरीको मीठा नेपाली परिकारहरू सहभागीले स्वाद लिएर खाएका थिए । 

यसअघि फोरमका संस्थापक अध्यक्ष प्रा. डा. गोपाल सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले संस्थाको ११ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन पनि सम्पन्न गरेको थियो ।  

नयाँ कार्यसमितिको अध्यक्षमा उद्धव भट्टराई, उपाध्यक्षमा मेनुका कटुवाल, सचिवमा देवी तिमिल्सिना, उपसचिवमा देवी वराल, कोषाध्यक्षमा रोशन भट्टराई साथै सदस्यहरूमा अनल गौतम, ज्योत्स्ना भट्टराई, राधा खत्री, जयन्ती खड्का, इला गुरुङ र नवीन वर्देवा चयन भएका छन् ।

यसका साथै भेलाले प्रा. डा. गोपाल सापकोटा, डा. शिला त्रिपाठी र शोभा भट्टराई रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू