बुधबार, वैशाख १२, २०८१
06:43 | ११:२८

एभरेष्ट म्याराथनका लागि बेलायतबाट भूतपूर्व गोर्खाको टोली नेपाल जाने तयारी

नेपाली लिङ्क मार्च २९, २०२३

लन्डन । नेपालको दुर्गम घान्द्रुकस्थित मेश्रम बराह सेकेण्डरी स्कुलको सहयोगार्थ हाल बेलायत बस्दै आएका पूर्व गोर्खा सूर्य गुरुङले एभरेष्ट म्याराथन गर्ने भएका छन् ।

गुरुङको नेतृत्वमा जितबहादुर गुरुङ, जुमप्रसाद गुरुङ, श्रीमती बुद्धिलक्ष्मी गुरुङ, तर्कजंग गुरुङ, मीनबहादुर गुरुङ, हुम्राज गुरुङ, फत्तबहादुर गुरुङ र सुश्री हुमी बुढामगर समेत म्याराथनमा सहभागी हुनेछन् ।

एभरेष्ट बेस क्याम्पबाट नाम्चे बजारसम्म २६ माइल दुरीको उक्त फुल म्याराथन २९ मेमा हुंदैछ ।

गुरुङले यसअघि सन् २०१७ मा पनि एभरेष्ट म्याराथनमा भाग लिएका थिए । सन् २०२२ को लन्डन म्याराथनका पनि धावक हुन् उनी ।

विभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आएका गुरुङले किशोर किशोरीको स्कुल पढ्ने सपना साकार पार्ने उद्देश्यले यसपटक एभरेष्ट म्याराथनमा सहभागी हुन लागेको बताए । सरकारको तर्फबाट पर्याप्त बजेट उपलब्ध नहुँदा र पारिवारिक आर्थिक अवस्थाका कारण शहरमा गएर अध्ययन गर्ने सपना अधुरै रहेका बालबालिकाको भविष्य उज्यालो होस् भन्ने उद्देश्यले आफूले एभरेष्ट म्याराथनमार्फत सहयोग संकलन गर्न लागेको गुरुङले बताए । संकलित रकम उक्त विद्यालयका शिक्षकको तलव लगायतमा खर्च गरिनेछ ।

कम्तिमा पांच हजार पाउण्ड रकम संकलन गर्ने उद्देश्यले सुरु गरिएको ‘गोफण्डमी’ मार्फत करिब तीन हजार पाउण्ड जम्मा भइसकेको उनले बताए । बेलायतबाट संचालित ‘ट्याप ट्याप सेन्ड’ ले पनि उनलाई प्रायोजन गरेको छ ।

विश्वको कुनैपनि स्थानबाट नेपाल पैसा पठाउँदा ‘GHANDRUK’ कोड प्रयोग गरेमा प्रयोगकर्ताले दश पाउण्डको बोनस प्राप्त गर्ने उनले बताए । ‘ट्याप ट्याप सेन्ड’ को मोबाइल एप्लिकेशन डाउनलोड गरेर ‘घान्द्रुक’ कोड प्रयोग गरेमा स्कुलका लागि पनि सहयोग पुग्ने र स्वयं प्रयोगकर्तालाई पनि बोनस प्राप्त हुने हुँदा सबैले ‘ट्याप ट्याप सेन्ड’ मार्फत नेपाल पैसा पठाउन गुरुङको आग्रह छ ।

गाउँमा स्कुल नहुँदा त्यहांका बालबालिकाहरु  स्कुल जान घन्टौंसम्मको  कठिन यात्रा गर्न वाध्य भएका छन् ।

लामो समयको समुदायको पहल र प्रतिक्षाका बाबजुद सरकारले सन् २०२१ मा कक्षा ११–१२ का लागि भर्ना अनुमति दिएपनि शिक्षकको तलब र स्कुलका अन्य खर्च भने स्थानीय गाउँलेहरुले नै जोहो गर्नुपर्नेछ । विद्यालय सञ्चालनका लागि आवश्यक खर्च जुटाउन कम्तीमा पांच हजार पाउण्ड भएपनि संकलन गरेर पठनपाठनमा सहयोग पुरयाउने उद्देश्य रहेको गुरुङले बताए ।

गुरुङले यसअघि पनि एभरेष्ट म्याराथनबाट करिब २७ हजार पाउण्ड संकलन गरि तमु प्हे लु संघ यूकेको भवन निर्माणका लागि सहयोग गरेका थिए ।

गोफण्डमार्फत सहयोग गर्न यो लिंकमा क्लिक गर्नुहोला-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू