बिहीबार, वैशाख १३, २०८१
18:55 | २३:४०

बेलायती प्रधानमन्त्री भेट्न लाग्दा इजरायली प्रधानमन्त्रीविरुद्ध नाराबाजी

रासस/एएफपी मार्च २४, २०२३

तस्बिर एएफपी

लण्डन, १० चैत–बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँग डाउनिङ स्ट्रिटमा शुक्रबार भएको भेटमा ‘लोकतान्त्रिक मूल्यमान्यता’को रक्षा गर्नुपर्नेमा जोड दिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

नेतन्याहू आफ्नो सरकारको न्यायिक सुधार कार्यक्रमलाई लिएर इजरायलमा हप्तौंदेखि जारी विरोध प्रदर्शनपछि लण्डन आइपुगेका हुन् । सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरेपनि बेलायत यस विषयमा मौन छ ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले दुई नेताको बैठकको सारांशमा भनेका छन्, ‘प्रधानमन्त्री सुनकले इजरायलमा प्रस्तावित न्यायिक सुधारलगायत दुई देशको सम्बन्धलाई आधार बनाउने लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नुपर्ने महत्वमा जोड दिनुभयो ।’

नेतन्याहूको विरोधमा इजरायलको झण्डा र प्लेकार्ड बोकेका सयौं प्रदर्शनकारीले उनको आगमन रोक्न गेटबाहिर सडकमा रयाली निकालेका थिए ।

डाउनिङ स्ट्रिटको १० नम्बर द्वारमा सुनकले इजरायली वरिष्ठ नेतालाई अभिवादन गर्दा प्रदर्शनकारीले यसलाई ‘लज्जा’ को विषय भन्दै नारा लगाएका थिए ।

लण्डन प्रस्थान गर्नुभन्दा केही घण्टाअघि टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहूले आफ्नो विभाजनग्रस्त मुलुकभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बेलायत सरकारले नेतन्याहूको दुई दिने भ्रमणबारे आंशिक विवरण सार्वजनिक गरेको छ ।

दुई देशले ‘२०३० रोडम्याप’ सम्झौतामा हस्ताक्षर गरेको केही दिनपछि लण्डनले ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौता गर्ने क्रममा ‘द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने’ बताएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू