आइतबार, वैशाख २३, २०८१
10:28 | १५:१३

स्कटल्याण्डका खेलाडीले सन्दिपसंग मिलाएनन् हात

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२३

काठमाडौँ — क्रिकेट स्कटल्यान्डले जे संकेत गरेको थियो, कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार त्यही भयो । नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीमा समावेश गरिएपछि क्रिकेट स्कटल्यान्ड र क्रिकेट नामिबियाले आफूहरू ‘सचेत रहेको’ यसअघि नै जनाएका थिए । संकेत गरेजस्तै शुक्रबार स्कटिस खेलाडीले लामिछानेसँग हात मिलाएनन् ।

नेपालले विश्वकप लिग २ मा शुक्रबार स्कटल्यान्डमाथि विजय हात पारयो । ३ खेल खेल्नुअघि नै विजेता बनेको स्कटल्यान्डसँग प्राप्त नेपालको विजयभन्दा बढी चर्चा ‘नो ह्यान्डसेक’ को भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो घटनालाई संवेदनशील रुपमा लिएका छन् ।

क्रिकेटकै ठूलो अनलाइन ‘क्रिकइन्फो’ले सन्दीपसँग हात मिलाउन अस्वीकार गरिएको घटना प्राथमिकतासाथ उठाएको छ । खेलाडीसँग हात मिलाउन अस्विकार गर्नु राष्ट्रिय टिममाथि नै प्रतिष्ठाको विषय हो ।

खेल सकिएपछि दुवै टोलीले हात मिलाउने क्रिकेटको अन्तर्राष्ट्रिय परम्परा हो । स्कटिस टोलीले नेपाली ड्रेसिङ रुममा गएर बधाई दिने क्रममा अरू सबैसँग हात मिलाएका थिए । तर अग्रपंक्तिमा रहेका पूर्वकप्तान केयल कोएट्जरसहित प्रशिक्षक सिन बर्गरले पंक्तिबद्ध हिसाबमा अन्तिममा रहेका सन्दीपसँग हात मिलाएनन् ।

लगत्तै मैदानमा गएर ‘अन फिल्ड’ खेलाडीसँग हात मिलाउने क्रममा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले सन्दीपतर्फ हात अगाडि बढाए पनि ड्रेसिङ रुममै ह्यान्डसेक अस्वीकार गरिएकाले सन्दीपले हात बढाएनन् । स्कटल्यान्डका अन्य खेलाडीले भने सन्दीपतर्फ हातै अघि बढाएनन् । नेपाल र स्कटल्यान्ड टोलीका अन्य सबैले भने एकअर्कासँग हात मिलाएका थिए ।

स्रोतका अनुसार क्रिकेट स्कटल्यान्डले बलात्कार जस्तो गम्भीर फौजदारी अभियोग लागेका खेलाडीसँग आफूहरूले हात नमिलाउनेबारे नेपाल क्रिकेट संघ (क्यान) लाई पहिल्यै इमेल लेखेर अवगत गराइसकेको थियो । जवाफमा क्यानले आफ्नो मौलिक परम्परा भन्दै स्कटल्यान्डसँग ‘नमस्तेको प्रस्ताव’ राखेको थियो ।

क्यानले अघिल्लो शुक्रबार सन्दीपलाई समेट्दै १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको थियो । त्यसको दुई दिनअघि क्रिकेट स्कटल्यान्ड र क्रिकेट नामिबियाले सन्दीप लामिछानेको कानुनी अवस्थाका बारेमा आफूहरू ‘सचेत रहेको’ जनाएका थिए ।

‘आधुनिक समाजमा सबै खाले दुर्व्यवहारको कुनै स्थान छैन र क्रिकेट स्कटल्यान्ड त्यसविरुद्ध दृढताका साथ उभिन्छ, सन्दीपको निर्णय लिने कुरा सबै आईसीसी र क्यानको हो,’ क्रिकेट स्टकल्यान्डले विज्ञप्तिमा भनेको थियो । त्यस्तै क्रिकेट नामिबियाले आफूहरू कुनै पनि लैंगिक हिंसा, विभेद र दुर्व्यवहारको विपक्षमा रहेको विज्ञप्तिमार्फत जनाएको थियो ।

लामिछानेविरुद्ध भदौ २१ मा गौशाला प्रहरीमा नाबालिग बलात्कारको जाहेरी परेको थियो । जमैकामा सीपीएल खेलिरहेका लामिछाने नेपाल फर्कनेक्रममा असोज २० मा विमानस्थलबाटै पक्राउ परेका थिए । त्यसपछि काठमाडौं जिल्ला अदालतले उनलाई कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

केन्द्रीय कारागारमा थुनामा रहेका लामिछानेलाई पाटन उच्च अदालतले २० लाख धरौटीमा तारिखमा छाड्न आदेश दिएपछि उनी पुस २९ मा थुनामुक्त भएका थिए । उच्च अदालतको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । सर्वोच्चले आगामी फागुन १२ मा उक्त निवेदनमा अन्तिम सुनुवाइ गर्दै छ ।

अदालतमा नाबालिग बलात्कारको मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय टिममा समावेश गर्न नहुने व्यापाक सार्वजनिक आवाजलाई निस्तेज पार्दै क्यानले लामिछानेलाई लिएपछि त्यसको आलोचना भएको थियो ।

क्यानको निर्णयले महिला र बालबालिकाविरुद्ध हुने हिंसालाई प्रोत्साहन गर्ने र त्यसले पीडितलाई थप आहात बनाउने भनी चिन्ता व्यक्त गरिएको थियो । शुक्रबार त्रिवि क्रिकेट मैदानमा स्कटिस टोलीले आफूहरू कुनै पनि प्रकारका हिंसा र दुर्व्यवहारविरुद्ध दृढताका साथ उभिने भनी यसअघि नै गरेको प्रतिबद्धतामा अडिग रहेको देखाएको छ । विनोद पाण्डे/कान्तिपुर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू