शनिबार, वैशाख २२, २०८१
23:15 | ०४:००

बेलायत बसेर असभ्य कमेन्ट गर्ने गुरुङको खोजीमा इन्टरपोल

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२३

काठमाडौँ । गत माघ १ गते पोखरामा यती एअरको एटीआर जहाज दुर्घटना हुँदा ७२ जनाको ज्यान गयो । सारा देश शोकमा डुबेको समयमा सामाजिक सञ्जालमा सक्रिय एक व्यक्ति भने दुर्घटनामा मृत्यु भएकाहरूको विषयमा असंवदेनशील टिप्पणी गरिरहेका थिए ।

दुर्घटनामा मृत्युवरण गर्न पुगेका डाक्टर, एअर होस्टेस र नाबालकको सम्बन्धमा समेत तथानाम लेख्न उद्धत ती व्यक्ति को हुन् भन्ने पत्ता लागिरहेको थिएन ।

उज्ज्वल श्रेष्ठ नाम उल्लेख रहेको फेसबुक आइडीबाट नाबालकको तस्बिरसहितको टिप्पणी पोष्ट गर्दै हवाई दुर्घटनामा ‘अपराधी’हरूको मृत्यु भएकामा आफूले घरमा भोज राखेको सम्म लेख्न भ्याएका थिए । 

उज्ज्वल श्रेष्ठको नाम राखी श्रीमान् र श्रीमतीको फोटो समेत प्रोफाइल फोटोमा राखेर तथानाम लेख्ने, अश्लील गालीगलौज गर्ने, असभ्य शब्दहरूको प्रयोग गर्ने ती व्यक्तिलाई पक्राउ गर्न साइबर ब्यूरोका प्रहरीहरूलाई दबाब आइरहेको थियो ।

साइबर ब्यूरोका प्रमुख एसएसपी नवीन्द अर्याल, प्रवक्ता समेत रहेका एसपी पशुपतिकुमार राय र इन्स्पेक्टर राजकुमार खड्गीको मोबाइलमा सम्पर्क गर्नेले ती व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न दबाब दिइरहेका थिए । 

उज्ज्वल श्रेष्ठ नाम राखेर फेसबुक चलाइएको र उनकै वास्तविक फोटो प्रयोग गरिएको भए पनि ती व्यक्ति उज्ज्वल श्रेष्ठ भने थिएनन् । श्रेष्ठ र उनकी पत्नी एलिसा श्रेष्ठले विमान दुर्घटना भएको माघ १ गतेभन्दा पहिले नै नेपाल प्रहरीको साइबर ब्यूरोमा एक उजुरी दिएर आफूहरूको फोटो दुरुपयोग गरी आफूहरूलाई नै तथानाम गाली गर्ने गरेको, अन्य व्यक्तिहरूलाई पनि अश्लील गालीगलौज गरेको भन्दै कारवाहीका लागि निवेदन दिइसकेका थिए । उनीहरूबाहेक अन्य केही महिलाले पनि उज्ज्वल श्रेष्ठको नाममा खोलिएको फेसबुक आइडीबाट आफूहरूलाई अश्लील म्यासेजहरू आउने गरेको भन्दै उजुरी दिएका थिए ।

फेसबुकमा जसको फोटो र नाम प्रयोग गरिएको थियो, उनीहरू आफै पीडित थिए । माघ १ गतेभन्दा अगाडि साइबर ब्यूरो ती व्यक्तिको खोजीमा आक्रामक बनेको थिएन । तर जब पोखरामा यती एअरको विमान दुर्घटना भयो र त्यही फेसबुक आइडीबाट जथाभाबी पोष्टहरु आउन थाल्यो, त्यसपछि नेपाल प्रहरी र साइबर ब्यूरोको टाउको दुखाइ झनै बढ्यो । 

असंवेदनशील टिप्पणी, भद्दा र अश्लील पोष्ट गरी हैरानी दिएपछि पीडित परिवार, पत्रकार, शुभचिन्तक आदिले तत्काल पक्राउ गरी कारबाही गर्न भन्दै साइबर ब्यूरोमा उजुरी दिने क्रम बढ्यो ।

उक्त फेसबुक चलाउने व्यक्तिलाई तत्कालै पक्राउ गरी हदैसम्मको कारबाही गर्न भन्दै ब्यूरोमा करिब एक दर्जन लिखित निवेदन तथा पाँच दर्जनभन्दा बढी फोन कल आए । त्यसपछि ब्यूरोले आफ्नो पूर्ण शक्ति लगाएर ती व्यक्तिबारे खोजी सुरु गर्‍यो । 

नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुकको मुख्यालयसँग समन्वय गरी उज्ज्वल श्रेष्ठको नाममा नक्कली आइडी बनाएर फेसबुक चलाउने व्यक्तिको बारेमा जानकारी माग गरयो । उज्ज्वल श्रेष्ठको नाम भएपनि फेसबुकको प्रोफाइल लिंकमा ‘मोहन गुरुङ’ नाम देखिएकाले ती व्यक्ति मोहन नाम वा गुरुङ थर भएको व्यक्ति हुनुपर्छ भनेर खोजी सुरु भयो । 

साइबर ब्यूरोले इमरजेन्सी भन्दै माग गरेको डाटा फेसबुकले पनि तत्कालै उपलब्ध गरायो । उक्त फेसबुक आइडीमा नेपालकै एउटा एनसेलको नम्बर लिंक गरिएको पत्ता लाग्यो । साइबर ब्यूरोको प्रहरीले तत्कालै उक्त नम्बर निकाल्ने व्यक्तिको विषयमा जानकारी बटुल्यो र ती व्यक्तिको वासस्थानसम्म पुग्यो ।

तर जसको नाममा उक्त सिमकार्ड रहेको थियो, ती व्यक्तिले कहिल्यै पनि उक्त सिमकार्ड प्रयोग गरेका थिएनन् । जुन सिमकार्ड ती व्यक्तिले चलाइरहेका थिए, उनको पनि अर्कै फेसबुक थियो । 

बरु एनसेलले सिमकार्ड दिने समयमा तीनवटा गल्ती गरेको थियो । जसको नाममा सिमकार्ड लिइएको थियो, ती व्यक्ति वास्तविक प्रयोगकर्ता थिएनन् । अनि जुन नागरिकता प्रयोग गरी सिमकार्ड निकालिएको थियो, ती व्यक्तिको फोटो प्रयोग नगरी अर्कै व्यक्तिको फोटो प्रयोग गरिएको थियो । प्रहरी अनुसन्धानका क्रममा सिमकार्ड जसको नाममा लिइएको थियो, ती व्यक्तिले कहिल्यै पनि उक्त सिमकार्ड चलाएका थिएनन् र सिमकार्ड निकाल्दा प्रयोग गरिएको फोटो पनि अर्कै व्यक्तिको थियो । जसले जुन प्रयोजनका लागि सिम निकालेका थिए, ती व्यक्तिले आपराधिक क्रियाकलापमा प्रयोग गर्नका लागि सिमकार्ड निकालिएको निष्कर्षमा प्रहरी पुग्यो ।

फेसबुकले पठाएको नेपालको नम्बरबाट पत्ता नलागेपछि साइबर ब्यूरोले अन्तिमपटक प्रयोग गरिएको वा प्राप्त भएको आइपी एड्रेसबाट ती व्यक्तिको खोजी सुरु गरयो । आइपी एड्रेसकै आधारमा ती व्यक्तिको अर्को मोबाइल नम्बर पनि प्राप्त भयो । उक्त नम्बर भने नेपालको नभएर बेलायतको नम्बर थियो । यूकेको ००४४७३८६६६––३७ नम्बरबाट उक्त फेसबुक चलिरहेको पत्ता लाग्यो । 


दूरसञ्चार प्राधिकरणको सहयोगमा प्रयोगकर्ताको पहिचान

फेसबुकमा प्रयोग भइरहेको बेलायतको नम्बर प्राप्त गरेपछि साइबर ब्यूरोले उक्त नम्बरमा कुराकानी भएको नेपाली नम्बरहरूको खोजी गर्‍यो । त्यही क्रममा नेपालका ४ वटा नम्बरमा उक्त नम्बरबाट बारम्बार कुराकानी भइरहेको पाइयो । त्यो चारवटा नम्बरमध्ये दुईवटा नम्बर महिलाको थियो भने दुईवटा नम्बर पुरुषको । त्यही नम्बरको खोजीमा जुटेको साइबर ब्यूरोको प्रहरीले भक्तपुरमा बन्दै गरेको एउटा घरमा पुगेर शर्मिला श्रेष्ठ (नाम परिवर्तन) लाई नियन्त्रणमा लियो ।

शर्मिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि प्रहरीलाई ती व्यक्तिबारे जानकारी पाउन कठिन भयो । तर प्रहरीको केरकार र अनुसन्धानपछि खुल्यो शर्मिला अरू कोही नभएर फेसबुकमा नक्कली आईडी बनाएर धेरैलाई हैरानी दिने इटहरीका मिलन गुरुङकी श्रीमती थिइन् ।

उज्ज्वल श्रेष्ठको नाममा नक्कली फेसबुक बनाएर धेरैलाई अश्लील सन्देश पठाउने, धम्की दिने र सामाजिक सञ्जालमा असामाजिक र असंवेदनशील टिप्पणी गर्ने वास्तविक व्यक्ति थिए, भेजपुरमा जन्मिइ सुनसरीको इटहरी नगरपालिका–२ तरहरा स्थायी ठेगाना भएका ३६ वर्षीय मिलन गुरुङ । अनि मिलनचाहिँ वैदेशिक रोजगारीका क्रममा यूकेमा बसोबास गरिरहेका थिए । 

भक्तपुरबाट मिलनकी श्रीमती शर्मिलालाई नियन्त्रणमा लिएसँगै ब्यूरोको प्रहरीले शर्मिलाको मोबाइल जफत गरेर ब्यूरोमा ल्यायो । तर ब्यूरोमा ल्याएर शर्मिलाको मोबाइल हेर्दा न त्यहाँ ‘उज्ज्वल श्रेष्ठ’ले पठाएको म्यासेज देखियो, न उनको कुनै फोटो वा कागजात नै ।

तर जब प्रहरीले मोबाइलको सूक्ष्म अनुसन्धान गरयो, त्यसपछि डिलिट गरिसकेको अवस्थामा मिलन गुरुङको श्रीमती शर्मिलाको मोबाइलमा मिलनसम्बन्धी कागजात र उनको फोटो भेटियो । त्यसपछि मिलनकी श्रीमती शर्मिला, बुवा र भाइलाई पुनः साइबर ब्यूरोमा ल्याएर सनाखत गर्न लगाउँदा उक्त नम्बर चलाउने व्यक्ति तिनै मिलन रहको भन्दै सनाखत गरिदिए ।

यूकेमा बसेर असभ्य, अश्लील र असंवेदनशील टिप्पणी गर्ने र धेरै महिलाहरूलाई हैरानी दिने व्यक्ति पत्ता लागे लगत्तै प्रहरीले पहिलेका केही उजुरी र नयाँ उजुरीसमेत लिएर बुधबार मात्रै काठमाडौँ जिल्ला अदालतबाट मिलन गुरुङविरुद्ध पक्राउ पुर्जी लिएको छ । 

महिलाहरूलाई अश्लील सन्देश पठाउँथे र मानसिक यातना दिन्थे

सन् २०१९ को अक्टोबर महिनामा पछिल्लो पटक युके पुगेका मिलनले जहाज दुर्घटनाभन्दा धेरै पहिलेदेखि नै महिलाहरूलाई अश्लील सन्देश पठाउने र मानसिक यातना दिने गरेको पाइएको छ ।

साइबर ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार मिलनले केही समय पहिले नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्ने एक महिलाको चरित्र हत्या गर्ने र सामाजिक जीवन नै खलबल्याउने प्रयास गरेका थिए । ती महिलालाई फेसबुकमा अडियो तथा भिडियो कल गर्ने, जथाभाबी बोल्ने र पछि अडियो मिक्सिङ गरेर महिलाले नै बोलेको जस्तो गरी महिलाकै आफन्तहरूलाई पठाउने गरेका थिए । 

मिलनले ती महिलाका श्रीमानलाई समेत महिलाको अश्लील प्रकृतिको भिडियो बनाई हैरानी दिने गरेका थिए । अन्य महिलाहरूले पनि उक्त फेसबुक आइडीका सम्बन्धमा उजुरी गरेका थिए । 

पछिल्लो समय उज्ज्वल श्रेष्ठको नाममा खोलिएको फेसबुक आइडीबाट वास्तविक उज्ज्वलकी श्रीमतीलाई समेत अपशब्द बोल्दै अश्लील सन्देशहरू पठाएका थिए । ती महिलाको समेत फोटोहरू जोडेर सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने लगायतको आपराधिक क्रियाकलापमा उद्धत थिए मिलन ।

पक्राउ पर्ने कुरा गर्दा मर्ने वा मार्ने धम्की दिन्थे मिलन

अति असंवेदनशील भएर जथाभाबी टिप्पणी गर्ने गरेपछि एकजना फेसबुक प्रयोगकर्ता रोशन सुवेदीले आफू ह्याकर भएको र उज्ज्वल श्रेष्ठ नामको वास्तविक व्यक्ति पत्ता लगाएर कारबाहीको दायरामा ल्याउने कमेन्ट गर्दा मिलनले प्रहरी नै आए पनि आफूलाई पक्राउ गर्न नसक्ने र प्रहरी आए मर्ने कि मार्ने धम्की दिने गरेका थिए । 

जथाभाबी लेख्ने व्यक्ति पक्राउ परेको भन्दै आफैले गरेका थिए पोष्ट

मिलन गुरुङले उज्ज्वल श्रेष्ठको नामको नक्कली फेसबुक आइडी बनाएर जथाभाबी पोष्ट गरेको, अश्लील र असंवेदनशील टिप्पणी गरेको तथा महिलालाई हैरानी दिएको विषयमा व्यापक आलोचना भएपछि मिलनले पछि सबै पोष्टहरु हटाएका थिए । 

बरु त्यही आइडीबाट दुईजना व्यक्तिको फोटो राखेर यही आइडीबाट अश्लील शब्दहरू प्रयोग गरी मृत्यु भएका व्यक्तिहरू तथा अन्य व्यक्तिहरूको चरित्र हत्यामा संलग्न व्यक्तिहरू धरानबाट पक्राउ परेको भन्दै पोष्ट गरेका थिए । साथै उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने पनि लेखियो । तर ती व्यक्तिहरूको यो घटनामा कुनै संलग्नता थिएन । 

जतिबेला मिलनले यो पोष्ट गरेका थिए, त्यतीबेलासम्म यी व्यक्ति इटहरीका मिलन गुरुङ हुन् भन्ने प्रहरीलाई थाहा भइसकेको थिएन । तर धरानको स्थानीय ठेगाना उल्लेख गरेको कारण प्रहरीले सोही स्थानमा पुगेर समेत सोधखोज गरेको थियो । 

ब्रिटिस लाहुरे भन्दै २० वर्षीय युवतीलाई बनाए कान्छी श्रीमती

हाल यूकेमा बसोबास गरिरहेका मिलनले आफू ब्रिटिस लाहुरे रहेको भन्दै सुनसरीमै एक युवतीलाई कान्छी श्रीमती बनाएर राखेको पाइएको छ । प्रहरीले अनुसन्धानका क्रममा बुझेको एक २० वर्षीया युवतीले आफू मिलनको श्रीमती भएको दाबी गरेकी छिन् । पहिले नै अर्को श्रीमती छ भन्ने थाहा भएको र आफू पनि मिलनको श्रीमती रहेको ती युवतीले दाबी लिएको ब्यूरोका इन्स्पेक्टर खड्गीले बताए ।

पक्राउका लागि इन्टरपोलमा पत्राचार

गुरुङलाई पक्राउ गरी नेपाल पठाइदिन साइबर ब्यूरोले इन्टरपोलमा पत्राचार गरिसकेको छ । साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपति कुमार रायका अनुसार काठमाडौँ जिल्ला अदालतबाट मिलनविरुद्ध पक्राउ पुर्जी प्राप्त भए लगत्तै प्रहरीले इन्टरपोलमा पत्राचार गरेर मिलनलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेको छ ।

इन्टरपोलले मिलनलाई नियन्त्रणमा लिई यूकेबाट डिपोर्ट गरी नेपाल पठाइदिन आग्रह गरेको र उनी चाँडै नै नेपाल आइपुग्ने अपेक्षा गरिएको ब्यूरोका प्रवक्ता समेत रहेका एसपी रायले बताए । 

५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने

साइबर ब्यूरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार बुधबार काठमाडौँ जिल्ला अदालतबाट मिलनविरुद्ध पक्राउ पुर्जी लिइसकिएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कारवाही गर्ने भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गर्न लागिएको हो ।

मिलनको आपराधिक क्रियाकलाप पुष्टि हुने धेरै प्रमाण रहेको भन्दै उनलाई ५ वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म वा दुवै सजाय हुनसक्ने एसपी रायले बताए । 

जुन भूमिबाट अपराध गरे पनि अपराधी लुक्न सक्दैनन्: एसएसपी अर्याल

साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्याल अपराधीले जुन भूमिबाट अपराध गरेको भए पनि एक दिन पक्राउ परी कानुनी कारबाहीको सामना गर्नै पर्ने बताउँछन् । अन्य व्यक्तिको नागरिकता र नाम तथा तस्बिर प्रयोग गरेर सिमकार्ड लिने, फेसबुक खोल्ने र जथाभाबी लेख्ने वा बोल्ने व्यक्ति आपराधिक मानसिकताकै व्यक्ति भएको अर्यालको टिप्पणी छ । यस्ता व्यक्तिहरूको खोजी र कानुनी कारबाहीको बाटोमा ल्याउन ब्यूरोले मिहिनेत गरिरहेको भन्दै मिलन गुरुङको सम्बन्धमा भएको अनुसन्धान एउटा सफलता भएको अर्यालले बताए ।

एसएसपी अर्यालले भने, ‘यो मान्छेले आफू नेपालमा छैन, के नै हुन्छ र भनेर सोचेको थियो । तर जुन देशमा रहेको भए पनि पत्ता लगाउन सकिन्छ र एक दिन कानुनी कारबाहीको भागीदार हुनुपर्छ भन्ने तथ्य यो घटनाबाट स्थापित भएको छ ।’

अर्याल अगाडि भन्छन्, ‘यो मान्छेका असंवेदनशील टिप्पणी र अश्लील सन्देश तथा गालीगलौजका कारण धेरै हैरानीमा थिए । हामीलाई पनि विभिन्न व्यक्तिले ती व्यक्ति को हुन् र किन पक्राउ नगरेको भन्दै बारम्बार दबाब दिइरहेका थिए । हाम्रो लागि पनि टाउको दुखाइको विषय बनेको थियो । अब भने केही राहत भएको छ । आशा गरौँ, अबको केही समयमै प्रक्रिया पूरा गरेर मिलनलाई अदालतमा उपस्थित गराउन सकिनेछ ।’  –रातोपाटी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू