शनिबार, वैशाख २२, २०८१
22:54 | ०३:३९

राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार मनोनयन

रासस फ्रेब्रवरी ४, २०२३

तस्बिर रासस

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ देखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्ष चयनका लागि मिति निर्धारण गरेका थिए ।

आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४: १५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने एवं उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ ।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्ष पद रिक्त छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचन मिति तोकेका थिए । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्का महासचिवलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार महासचिव गौतमले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू