मंगलबार, चैत ६, २०८०
11:50 | १७:३५

भूतपूर्व गोर्खा मुद्दा छिट्टै सुल्झाउने प्रधानमन्त्री दाहालको आश्वासन

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२३


लन्डन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूतपूर्व गोर्खाहरुको मुद्दा छिट्टै सुल्झाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलसंग छलफलका क्रममा प्रधानमन्त्रीको उक्त आश्वासन आएको हो ।

‘तपाईंहरुको मुद्दाबारे मलाई राम्ररी थाहा छ, यो केवल गोर्खाहरुको मात्र नभइ नेपाल राष्ट्रकै मुद्दा हो’, प्रधानमन्त्री दाहालको भनाइ उधृत गर्दै राईले सुनाए, ‘उहांले यस सम्बन्धमा सशक्त कदम चाल्न विभागीय मन्त्री र राजदूतलाई निर्देशन भइसकेको समेत अवगत गराउनुभयो ।’

सत्याग्रह प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसंग राजदूत परिवर्तन, युक्रेन रुस युद्ध, बेलायतको राजनीतिक उथलपुथल आदिका कारण वार्ता विलम्ब भएर ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेको थियो ।

प्रतिउत्तरमा प्रधानमन्त्रीले अब धेरै प्रतिक्षा गर्नु नपर्ने अठोट व्यक्त गरेको पनि राईले नेपाली लिंकसंग बताए ।

सत्याग्रहले गोर्खासमेत संलग्न जारी बेलायत र नेपालबीच सरकारस्तरिय (जिटुजी) त्रिपक्षीय वार्ता ‘फाष्ट ट्रयाक’ मा लैजान प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।

श्रोतका अनुसार, सत्याग्रह टिमले राजदूत परिवर्तन भइरहंदा वार्ता ढिलाइ हुने भएकाले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई यहीं राख्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको थियो ।

उता, सत्याग्रहले नेपाल सरकारकी नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल, उपप्रधानमन्त्री राजेन्द्र लिंग्देन, उपप्रधानमन्त्री तथा गृहमन्त्री भएकै बेला 
रवि लामिछाने, पर्यटनमन्त्री सुदन किराती लगायतलाई भेटेर आफ्नो मुद्दा समाधानका लागि आग्रह गरेको छ ।

‘हामी राजनीतिक भेटघाटबाट अत्यन्त उत्साहित छौं । गोर्खा परिवारबाटै तीन जना क्याबिनेट मन्त्री, त्यसमा पनि वार्तामा प्रमुख भूमिका खेल्न सक्ने परराष्ट्र मन्त्री गोर्खालीकी बुहारी भएकाले हामी यसपटक अझ बढी आशावादी छौं’, सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईले बेलायतमा भने, ‘सांसद हेमराज राई, राष्ट्रिय सभा सदस्य जयन्ती राई, ब्रिटिश पूर्व गोर्खा सैनिक खाम गर्बुजा सांसद भएका छन् । भोजपुरबाटमात्रै दुई मन्त्रीसहित चार जना सांसद निर्वाचित 
हुनु हामीले सुःखद संयोग मानेका छौं ।’

यसअघि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्ण कुमार राईको नेतृत्वमा भूपू सैनिकहरुको एक प्रतिनिधिमण्डलले पनि परराष्ट्रमन्त्री पौड्याललाई उनकै निवासमा भेटेर आफ्ना माग स्मरण गराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू