मंगलबार, वैशाख ११, २०८१
16:04 | २०:४९

गोर्खा अभियन्तासँग नयाँ परराष्ट्रमन्त्रीको भेट, वार्ता सफल बनाउने अठोट

नेपाली लिङ्क जनवरी ३१, २०२३

काठमाडौं। भूतपूर्व गोर्खाहरुले गोर्खा मुद्धामा जारी त्रिपक्षीय वार्ता सफल पार्न आवश्यक भूमिका निर्वाह गरिदिन नेपाल सरकारकी नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याललाई आग्रह गरेका छन्।  

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्ण कुमार राईको नेतृत्वमा भूपू सैनिकहरुको एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री पौड्याललाई मंगलबार उनकै निवासमा भेटेको थियो।

गोर्खा मुद्धामा पूर्व गोर्खा समेतको सहभागितामा बेलायत र नेपालबीच सरकारस्तरमा वार्ता भइरहेका सन्दर्भमा विभागीय मन्त्रीका रुपमा उनलाई भेटिएको हो।

त्यस अवसरमा गोर्खाहरुको प्रतिनिधित्व गर्दै गेसो सभापति राईले बेलायत सरकारले गोर्खा सैनिकहरुमाथि सदियौंदेखि गर्दै आएको विभेद अन्त्य गर्न नेपाल र बेलायत सरकार तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सार्थक बनाउन मन्त्री पौडेलको विशेष भूमिकाका लागि आग्रह गरेका थिए।  

पौड्याल नेपाल सरकारको जिम्मेवार मन्त्री मात्र नभइ विभागीय मन्त्री पनि भएको नाताले वार्ताको प्रतिफल गोर्खा र नेपालको पक्षमा पार्न पहल गर्न उनको आग्रह थियो।

गोर्खाहरुको आग्रहको जवाफमा मन्त्री पौड्यालले भूपू सैनिकहरुको सवाल भनेको कुनै एक जाति र वर्गको मात्र समस्या नभइ सिंगो राष्ट्रको समस्या भएको उल्लेख गरिन्।  

नेपाल र बेलायत सरकारको प्रतिनिधि तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्ता सफल पार्न र पीडितलाई न्याय दिलाउन आफ्नो ज्ञान र विवेकले भ्याएसम्म कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता उनले प्रकट गरेकी छन्।

मन्त्री पौड्याललाई भेट्न जी टेन समूहमा आबद्ध विभिन्न गोर्खा संगठनका एक दर्जन बढी पूर्व गोर्खा सैनिक पुगेका थिए। उनीहरुको तर्फबाट मन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाइएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू