मंगलबार, वैशाख ११, २०८१
08:46 | १३:३१

बेलायतमा पहिलोपटक नेपाली फिल्म महोत्सव गर्ने तयारी

नेपाली लिङ्क जनवरी ३०, २०२३

लन्डन । बेलायतमा पहिलोपटक साताव्यापी नेपाली फिल्म महोत्सव हुने भएको छ । थर्ड आइले नेपालका दुई दर्जन बढी राष्ट्रिय कलाकारसहित फेब्रुअरी तेश्रो साता महोत्सव गर्ने तयारी गरेको हो ।

लन्डनको केन्द्र लेष्टर स्क्वायरमा नेपाली चलचित्र प्रदर्शनीदेखि अल्डरसट एम्पायर हलमा विभिन्न प्रस्तुति महोत्सवका आकर्षण हुनेछन् ।

आइतबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समूहका तर्फबाट ओजेश सिंहले महोत्सव उद्घाटन १८ फेब्रुअरीमा प्रिन्स चार्ल्स थिएटरमा प्रकाश फिल्म प्रदर्शनसहित हुने जनाए ।

दोश्रो दिन साउथ इष्ट लन्डनको वुलवीचमा फिल्म कैदीको पत्र, तेश्रो दिन स्कटल्याण्डमा चलचित्र झिंगे दाउ, चौंथो दिन नटिङहममा चलचित्र जीवन कांडा कि फूल, २४ फेब्रुअरीमा स्पेशल स्क्रिनिङका रुपमा अल्डरसटमा प्रेम गीत ३ देखाइने सिंहले बताए । ओपनिङ टिकट १५ पाउण्ड र अरु बेला १० पाउण्ड शुल्क लाग्ने आयोजकको भनाइ छ ।

२५ फेब्रुअरी सांझ अल्डरसटस्थित एम्पायर हलमा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित महोत्सव समापन गरिनेछ । सो अवसरमा बेलायतस्थित कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

थर्ड आइ टिमका संयोजक विकास देवकोटाले महोत्सवका लागि नेपालबाट लोकप्रिय कलाकारहरु नीर शाह, भुवन केसी, करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आंचल शर्मा, रिमा विश्वकर्मा, विल्सन विक्रम राई, अनुपविक्रम शाही, पुष्प खड्का, अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, मिलन चाम्स, दिपासा बिसी, यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियार, सन्तोष सेन, राज कटुवाल लगायत दुई दर्जन कलाकार आउने निश्चित भएको बताए ।

नेपालका सेलिब्रेटी कलाकारहरुसंग प्रत्यक्ष साक्षात्कार र अनुभव साटासाट गर्न ‘फाइन डाइन वीथ सेलिब्रेटी’, आउटिङ र मुखपत्र समेत प्रकाशन गरिने देवकोटाले जनाए ।

महोत्सवले नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा लैजान टेवा पुग्ने विश्वास पनि उनको छ ।


आयोजक टिमका अर्का सदस्य निर्देशक सनम बैरागले झांकी प्रदर्शनी, २३ फेब्रुअरीमा लन्डन आउने कलाकारहरुको एयरपोर्टमा स्वागत सम्मान, स्टेज सजावट आदि जिम्मेवारी लिएका छन् । आफ्नो जिम्मामा कुनै ‘कम्प्रमाइज’ नहुने बैरागले बताए ।

अर्का आयोजक सदस्य उमेश मोक्तानले नेपालमा उत्कृष्ट फिल्म बन्न थालेका र यस क्षेत्रको विकास भइरहेका बेला बेलायतमा समेत नेपाली कला, संस्कृति र चलचित्र प्रवर्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए ।

बेलायत र नेपालका कलाकारहरुबीच सम्बन्ध सुधार र अनुभव आदानप्रदान पनि महोत्सवको उद्देश्य रहेको उनले जनाए ।

आयोजकमध्ये एक सुवसिं गुरुङले महोत्सवमा सबैलाई सहभागी हुन निमन्त्रणा गरे । नेपालको फिल्म उद्योगको विकास र कलाकारहरुको योगदानको कदर गर्नु महोत्सवको उद्देश्य भएको उनले बताए ।

बेलायतलाई नेपाली फिल्ममय बनाउने तयारी रहेको उनको भनाइ थियो । चलचित्र विकास बोर्डबाट सम्मानपत्र दिइने पनि उनले जनाए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू