मंगलबार, चैत ६, २०८०
11:17 | १७:०२

अर्बपति गौतम अडानीका कारण शेयर बजारमा आतंक

रासस/एएफपी जनवरी २७, २०२३

मुम्बई १३ माघ–भारतका अर्बपति उद्योगपति गौतम अडानीका कारण शेयर बजारमा आतंक छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतंक छाएको हो ।

एशियाका सबैभन्दा धनी अडानीले यो साता आफ्नो कुल सम्पत्तिमा २५ अर्ब अमेरिकी डलर गुमाए । फोब्र्सको विश्वव्यापी धनीहरूको तेस्रो सूचीमा रहेका उनी सातौँमा झरेका छन् । यद्यपि व्यापार जगतमा सफलता पाएका संघर्षशील व्यक्तिका रूपमा उनको नाम अग्रपङ्तिमा छ ।

सन् १९९८ को पहिलो दिन आफ्ना एक जना सहयोगीसँगै बन्दुकधारीको अपहरणमा परेका थिए । अपहरणकारीले पन्ध्र लाख अमेरिकी डलर फैरौतीको माग गरेको थियो । उनी अज्ञातस्थलमा रिहा भएका थिए । एक दशकपछि यहाँको ताज महल प्यालेस होटलमा उनी खाना खाइरहेका थिए । यो त्यही होटल हो जसलाई आतङ्ककारीले घेरा हालेर एक सय ६० जनाको हत्या गरेका थिए ।

भारतमा भएको यो भयानक आतङ्वादी आक्रमण थियो । होटलका अन्य सयौँसँगै परिबन्धमा परेका अडानी रातभर होटलको भूँइतलामा बसेर बाँचेका थिए । उनलाई अर्को दिन सुरक्षाकर्मीले उद्धार गरेका थिए । “मभन्दा १५ फिट पर मृत्यु मडारिइरहेको थियो,”आफ्नो निजी विमानबाट गृहनगर अहमदावादमा ओर्लदा उनले त्यसदिनको आफ्नो त्रासदीपूर्ण अनुभव सुनाएका थिए ।

६० वर्षका अडानी भारतका अर्वपतिभन्दा पृथक छन् । अरुलेजस्तो उनी जन्मदिन वा विवाह भोजमा फजुल खर्च गर्दैनन् । त्यसो नगर्दा उनी पत्रपत्रिकामा भोजभतेरमा अधिक खर्च गर्ने व्यापारिका रूपमा पनि छाउँदैनन् । अन्तर्मुखी उनी सधैँ आकर्षण र तडकभडकभन्दा पर रहन्छन् । सञ्चारमाध्यमसँग बिरलै बोल्छन् । व्यवसायसँग सम्बन्धित भोजभतेरमा पनि आफ्ना सहयोगीलाई पठाउँछन् । “म भोजभतेरमा जाने सामाजिक प्राणी होइन,” फिनान्सियल डाइम्जलाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले भनेका थिए ।

मध्यम वर्गीय परिवारमा जन्मेका अडानी १६ वर्षको उमेरमा विद्यालयबाट बाहिरिएर देशको वित्तीय राजधानी मुम्बईमा रत्नआभूषणको आकर्षक व्यापारमा काम खोज्न आएका थिए । आफ्ना दाजुको प्लाष्टिक व्यापारमा छोटो समय काम गरेका उनले त्यसपछि पारिवारिक व्यापारको साम्राज्य थालेका हुन् ।

सन् १९८८ मा निर्यात व्यापारबाट उनको व्यापार यात्रा प्रारम्भ भएको हो । सात वर्षपछि अर्थात् सन् १९९५ मा आफ्नो गृहराज्य गुजरातमा व्यापारिक सिपिङ पोर्ट निर्माण एवम् सञ्चालनको ठेक्का पाएपछि उनी व्यापारिक साम्राज्य विस्तार गर्दै सफलताको शिखरतर्फ लम्केका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू