शनिबार, वैशाख १५, २०८१
05:53 | १०:३८

गोर्खा मुद्दामा बेलायती नेताको समर्थन जुटाउँदै सत्याग्रह

नेपाली लिङ्क जनवरी २५, २०२३

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्दामा बेलायत र नेपाल सरकारस्तरीय वार्ता जारी रहंदा गोर्खाहरुले बेलायती पक्षको नैतिक समर्थन जुटाउन पहल थालेका छन्।

वार्तामा गोर्खाहरुका प्रतिनिधिका रुपमा सहभागी वार्ताकार मेजर जुदबहादुर गुरुङसहित गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुले बेलायतको छांया (स्याडो) सरकारका भेटेरान मन्त्रीलाई भेटेर गोर्खाहरुको समस्याबारे जानकारी गराएका छन्।

मंगलबार छांया भेटेरान मन्त्री र्‍याचेल हप्किङ्ससँगको भेटमा मेजर गुरुङले पूर्व गोर्खाहरुको समस्याहरुबारे बुंदागत रुपमा जानकारी गराए।

उनले गोर्खाहरुमाथि बेलायतबाट भएको विभेद तथा हालसम्म सुनुवाइ हुन नसकेका विषयहरुबारे पनि उनलाई अवगत गराए।

एक घण्टा लामो भेटवार्तामा मेजर गुरुङको ब्रिफिङ सुनिसकेपछि भेट्रान मन्त्री हप्किङ्सले गोर्खाहरुको वास्तविक अवस्था बुझ्दा आफू गम्भीर बनेको प्रतिक्रिया दिइन्।

यसअघि गोर्खाका माग, त्रिपक्षीय सन्धिलगायतका विषयमा सुन्दै आएपनि गोर्खाहरुले भोगेका पीडा र विभेदबारे पहिलोपटक बुझ्ने अवसर पाएको उनले बताइन्।

गोर्खाहरुको माग पूरा गर्न आफूले सक्दो भूमिका खेल्ने आश्वासन छांया मन्त्री हप्किङ्सले दिइन्।  

गोर्खाहरुको मुद्धाका बारेमा बेलायत सरकारबाहेक अन्य पार्टी र सांसदहरुलाई समेत भेटेर जानकारी गराउन सके त्यसले वार्तालाई सफल पार्नमा सहयोग पुर्‍याउने सुझाव उनले दिएकी थिइन्।  

सो अवसरमा गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, यूके संयोजक टक गुरुङ, अभियन्ताहरु सइन्द्र केसी, राम राईसहित उक्त भेटवार्ताको संयोजन गर्ने बुद्धिजिवी शिवजी श्रेष्ठको पनि सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू