शुक्रबार, वैशाख १४, २०८१
23:08 | ०३:५३

संकटालाई आहा रारा पोखरा गोल्डकप उपाधि

रासस जनवरी ७, २०२३

कास्की, २३ पुस -संकटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ ।

पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै संकटा दोस्रोपटक च्याम्पियन बनेको हो ।

संकटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

संकटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक–एक गोलको योगदान गरे । उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।

खेलको सातौँ मिनेटमा सुरजज्यू ठकुरीको गोलमा संकटाले अग्रता लिएको थियो । यसैगरी खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो ।

खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन । निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर एक सय १७औँ मिनेटमा संकटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संकटाका सुनिल बल घोषित भए । उनले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उत्कृष्ट मिडफिल्डरमा संकटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा संकटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड संकटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा संकटाका सल्यान खड्गी घोषित भए । उनीहरु सबैले जनही रु २५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू