यती अधिवेशन आउंदो ५ फेब्रुअरीमा, चुनिंदै नयां कार्यसमिति



लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अधिवेशन आउंदो ५ फेब्रुअरीमा हुने भएको छ ।
उक्त अधिवेशनले आगामी २०२३-२०२५ का लागि नयां कार्यकारिणी समिति समेत निर्वाचित गर्ने अधिवेशन तथा निर्वाचनबारे जानकारी दिन सोमबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा यती महासचिव डा. मुकुन्द बास्तोलाले जनाए ।
उनले जनवरी ३१ सांझ ५ बजेसम्म नयां सदस्यता लिन वा नवीकरण गर्न अनुरोध गरेका छन् । इमेल, पोष्टल वा वेवसाइटमार्फत पनि नयां सदस्यता लिन वा नवीकरण गर्न सकिने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले निर्वाचन प्रक्रिया सम्पन्न गर्न यती पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा राजुकमार त्रिपाठी र राजेन्द्र पुडासैनी सदस्य रहेको एक निर्वाचन समिति समेत गठन गरेको छ । एसोसिएसनले छिट्टै निर्वाचन पर्यवेक्षण समिति र सुपरिवेक्षण सल्लाहकार समिति समेत गठन गर्ने जनाइएको छ ।
निर्वाचन समितिका अनुसार प्रथम मतदाता नामावली प्रकाशन १ फेब्रुअरी २०२३ अपरान्ह ५ बजे, मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी अपरान्ह ३ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी अपरान्ह ५ बजेसम्म छ ।
उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ । त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ ।
निर्वाचन समिति संयोजक उमेशराज मोक्तानले निष्पक्ष निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्दै यती कार्यसमितिको सहकार्य र समन्वयका लागि अनुरोध गरे ।
पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा मेटाउंदै यती अध्यक्ष ध्रुव केसीले कोभिड महामारी लगायत कारणले आफ्नो कार्यसमितिले सोचे जस्तो कार्य गर्न नसकेको स्वीकार्दै नयां आउने टिमले सशक्त भएर लाग्ने विश्वास व्यक्त गरे । अध्यक्ष केसीले अधिवेशन सफल बनाउन सबैमा सहयोगको अनुरोध पनि गरे ।
कार्यक्रममा एनआरएनए उपमहासचिव रामशरण सिम्खडाले पछिल्लो समय यतीको सक्रियता खस्कंदै गएका बेला यसको ऐतिहासिक गरिमा ब्युंताउन सुझाव दिए । निर्वाचन समिति सदस्य आर के त्रिपाठीले यतीको सदस्यता विस्तारमा जोड दिए ।
कार्यक्रममा मिडियाकर्मी तथा यती पदाधिकारीहरुको उपस्थिति थियो ।