शुक्रबार, वैशाख ७, २०८१
09:33 | १४:१८

रहेनन् फुटबल सम्राट पेले

रासस/एएफपी डिसेम्बर ३०, २०२२

फाइल फोटो । तस्बिर एएफपी

साओ पाउलो, १५ पुस- तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।

साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

‘हामी तपाईंलाई असीम प्रेम गरिरहनेछौँ’, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन् । 

पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक जीवनको दौडान फुटबल खेललाई नै रूपान्तरण गरेका थिए । 

ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताएका छन् । फ्रान्सका केलियन एमबाप्पेले उनको विरासतलाई ’कहिल्यै नबिर्सने’ बताएका छन् । 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनलाई ‘लाखौंका लागि प्रेरणा’ भनेका छन् । 

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् । 

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रधका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् । 

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक’ हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएका थिए ।

महान् फुटबलर पेलेका समर्थकहरू फूल चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिने शोकको घोषणा गरिएको छ । 

उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी थिए । 

गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायूका लागि ईश्वरलाई धन्यवाद दिएका थिए । 

उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलको एउटा गरिब परिवारमा भएको थियो । उनी आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगतमा अमर रहनेछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू