बिहीबार, चैत १५, २०८०
09:28 | १५:१३

पहिचान पुरस्कार ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’ उपन्यासलाई

नेपाली लिङ्क डिसेम्बर २४, २०२२

लन्डन । पहिचान पुरस्कार कोषले २०७८-२०७९ को पहिचान पुरस्कार ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’ उपन्यासलाई प्रदान गर्ने भएको छ।   

अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङद्धारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राई र बोर्ड अध्यक्ष प्रकाश राई ‘प्राण’ ले एक वक्तव्यमार्फत् जानकारी गराएका छन्। 

पुरस्कृत ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ का संकलकमध्ये लालीगुराँस नगरपालिकाका नगर प्रमुख समेत रहेका अर्जुनबाबु माबुहाङ लिम्बु जातीको विषयमा खोज अनुसन्धान गर्छन् । विशेष गरी मुन्धुमको जिवन दर्शनलाई नजिकबाट अध्ययन गर्छन् । उनी मुन्धुम दर्शनको अध्यता हुन्। त्यस्तै, अमित थेवे मिहाङ हाल रोजगारीको लागि बेलायतमा छन् । उनी युवा कवि, पत्रकार र सामाजिक अभियन्ता हुन् । 

उनीहरुको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ । यो महत्वपूर्ण दस्तावेज हो । जसलाई उनीहरुले आम समाजमा उपस्थित गराएका छन् । आफ्नो मातृभाषालाई आफ्नै लिपिमा लेखिनु उ बेला सामान्य विषय थिएन । मातृभाषा र लिपिको संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य गर्‍यो र सेनबंशीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा आएको छ । 

‘गुरु’ उपन्यासकार कविता राई शिक्षक हुन् । काठमाण्डौं भन्दा धेरै टाढा भोजपुरको एक स्कूलमा पढाउँछिन् । साथै कविता र आख्यान लेख्छिन् । गुरु उपन्यास सरल गाउँले जनजिब्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेष गरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुरा डाँडासम्मको कथा र कथाका पात्र जोडिएका छन् । 

पहिचान कोषका अनुसार चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिनेछ । गत साल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो । कोषले चैत्र ५ गते एक दिने ‘काव्य मुन्दुम पथ यात्रा’ गर्ने तालिका तय गरेको छ । उक्त यात्रामा आउने पाहुनालाई खान बस्न निशुल्क व्यवस्था गरिने कोषले जानकारी गराएको छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू